महोत्तरी । महोत्तरीमा बालिकाको शव फेला परेको छ ।  आइतबार साँझदेखि हराइरहेकी   बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो । घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए ।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ ।

पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक चापागाँईले  जानकारी दिए  ।

Facebook Comments Box