दमक/ छठ पर्वको मुख्य दिन आज साझ अस्ताउदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छ । यस बर्ष कोरोना महामारीका कारण जलाशयहरुमा भक्तजनहरुको भिडभाड गर्न रोक लगाइएकाले दमकमा भक्तजनहरुले घर घरमै जलकुण्ड बनाएर छठ पूजा गरेका छन ।
दमकका युवा व्यवसायी तथा पञ्चमुखी सेरामिक्सका प्रोप्राइटर सुवास साहले बर्षौदेखि आफनो घर परिवारका सदस्यहरुले खोला किनारमा घाट बनाएर गर्दै आएको छठ पूजा यस बर्ष आफनो व्यवसायिक गोदाम परिसरमा सञ्चालन गरेको बताए । सामाजिक सञ्जालहरुमा घर घरमै छठ पूजा गरिएका तस्विरहरु सार्वजनिक भइरहेका छन ।

स्थानीय सरकारले समेत घर घरमै छठ पर्व मनाउन आग्रह गरिसकेको छ । गौरीगञ्जमा भने सर्वसाधारणले स्थानीय गौरीया खोलामा भेला भएर सामुहिक रुपमै छठ पूजा गरेका छन । भोली बिहान उदाउदो सूर्यको पूजा गरेर ब्रतालुहरुले यस बर्षको छठ समापन गर्नेछन ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो ।



यस्तो छ छठको महिमा
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाच पाण्डव अज्ञातवासमा रहदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।
फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफनै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।