दमक/ यस बर्षको छठ पर्वको आज मुख्य दिन हो । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साझ अस्ताउदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइदैछ । यस बर्ष कोरोना महामारीका कारण जलाशयहरुमा भक्तजनहरुको भिडभाड गर्न रोक लगाइएकाले भक्तजनहरुले घर घरमै जलकुण्ड बनाएर छठ पूजा गर्दैछन ।
दमकका युवा व्यवसायी तथा पञ्चमुखी सेरामिक्सका प्रोप्राइटर सुवास साहले बर्षौदेखि आफनो घर परिवारका सदस्यहरुले खोला किनारमा घाट बनाएर गर्दै आएको छठ पूजा यस बर्ष आफनो व्यवसायिक गोदाम परिसरमा सञ्चालन गरेको बताए ।
यो बर्ष कोरोनाका कारण मानिसहरुको भिडभाड नहोस भन्ने उद्धेश्य राखेर स्थानीय सरकारले समेत घर घरमै छठ पर्व मनाउन आग्रह गरिसकेको छ । दमकको रतुवा खोला किनारहरुमा हिजोदेखिनै घाट सिगार्ने र भक्तजनहरु भेलाभई छठको महिमा गाउदै पूजा आरधना गर्ने गरेकोमा यस बर्ष खोला किनारहरु सुनसान बनेका छन । कैंयौं सर्वसाधारणका घर घरमा कोरोनाका बिरामी रहेका र र्कैयौं परिवार शोकमा रहेका कारण दमकमा छठको कुनै रौनकता छाउन नसकेको हो ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाच पाण्डव अज्ञातवासमा रहदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् ।
फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफनै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।