काठमाडौं/ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय आज बुधबार बसेको बैठकमा कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनमाथि सामान्य चर्चा भएको छ ।
दाहालले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको भन्दै गम्भीर आरोप लगाएका थिए । उनको आरोपपछि प्रधानमन्त्री ओली बुधबारको बैठकमा भाग नै नलिने अडानमा रहेपनि पछि बैठकमा सहभागि भएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा छलफल भएको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने जानकारी दिए । उनले अलग्गै प्रतिवेदन ल्याउने भएकाले बैठक १० दिनका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन । सचिवालयको अर्को बैठक मंसिर १३ गते बस्ने र सो बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गरिने नेकपा स्रोतले जनाएको छ ।
सचिवालय बैठकपछि आगमी १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि आजको बैठकमा भएको छ ।
पार्टीको सचिवालय बैठक स्थगित गरेर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने मन्त्रिपरिषद बैठक बोलाएका छन । मन्त्रिपरिषदको बैठक अहिले चलिरहेको छ । सचिवालय बैठक स्थगित गरेर बोलाइएको मन्त्रिपरिषदको आजको बैठकलाई महत्वका साथ हेरिएको छ । पार्टी बैठक र मन्त्रिपरिषद बैठक बस्नु अघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका थिए । हिजो मंगलबार राति भने ओली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले पनि भेटवार्ता भएको थियो । पार्टीभित्र ओलीको कार्यशैलीलाई लिएर चर्को मतभेद सिर्जना भएपछि ओली भने क्षण क्षणमा चिनिया राजदुतसंग र राष्ट्रपति भण्डारीसंग कुराकानीमा व्यस्त हुन थालेका हुन ।