दमक/झापाका कतिपय सामुदायिक विद्यालयहरुले एसइइ उत्तिर्ण गरेका बिद्यार्थीहरुसंग चारित्रिक प्रमाण पत्र शुल्क बापत चर्को शुल्क असुलेको गुनासोप्रति नेविसंघ झापाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं.१० मा रहेको बालनिकुञ्ज माध्यमिक विद्यालयले एसईई उत्तीर्ण विद्यार्थीलाई चारित्रिक प्रमाणपत्र शुल्कका नाममा चार हजार रुपैया लिएको गुनासो सार्वजनिक भएपछि संघले ध्यानाकर्षण भएको जनाउदै बिद्यालयमा तालाबन्दी समेत गरेको छ । नेविसंघ झापाका पूर्व जिल्ला सचिव विनोद खरेलको नेतृृत्वमा विद्यालयमा पुगेको विद्यार्थीहरुको टोलीले तालाबन्दी गरेको संघका झापा सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए । आज सभापति उप्रेतीले हस्ताक्षर गरेर जारी गरेको प्रेस विज्ञप्तीमा सरकारी विद्यालयमा कुनै शुल्क नलिई शिक्षा प्रदान गरिनुपर्ने र चारित्रिक प्रमाणपत्र बनाउदा समेत २०० देखि ५०० रुपैयासम्म मात्रै शुल्क लाग्ने भएपनि चर्को शुल्क असुली गैह्र कानुनी हुने समेत दाबी गरिएको छ ।

शुल्क असुलेका विद्यालयलाई सम्बन्धित अभिभावकको पैसा फिर्ता गर्न र आइन्दा कुनै पनि विद्यालयलाई त्यस किसिमको शुल्क असुली नगर्न पनि संघले चेतावनी दिएको छ । यस प्रकारका मनोमानी ढंगबाट शुल्क लिएको पाइए अभिभावक र विद्यार्थीहरुले नेविसंघ झापालाई जानकारी गराउन आग्रह गर्दै विज्ञप्तिमा यस्ता विद्यालय विरुद्ध जस्तोसुकै आन्दोलन गर्नेसमेत विज्ञप्ती मार्फत चेतावनी दिइएको छ । सोमबार बाल निकुञ्जमा तालाबन्दी गर्न खरेलको नेतृत्वमा नेविसंघका झापा जिल्ला सदस्य अशोक पाठक, उदिप दाहाल, विद्यार्थी नेता रविन घिमिरे, सविन बस्नेत,अर्जुन भट्टराई लगायत पुगेका थिए ।