दमक/ नेकपाका शीर्ष नेताहरुबीचको अन्तर कलहका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा मदन भण्डारी फाउण्डेशन गठन गरिएको छ । केही दिन यता पार्टी नेतृत्ववीच चल्दै आएको आन्तरिक मतभेद वीचनै दमकमा फाउण्डेशनलाई चलायमान बनाउन खोजिएको देखिन्छ ।
पार्टीले आफना नेताका नाममा खोलिएका संघ संस्थाहरुले गुटबन्दी सृजना गरि पार्टी कमजोर वनाएको भन्दै त्यस्ता गतिविधिमा रोक लगाउने निर्णय गरेको भएपनि दमकमा फाउण्डेशन चलायमान बनाउन खोजिएको हो ।
गोप्य राखिएको सो फाउण्डेशनको प्रस्तावित समिति पार्टी भित्र भने सार्वजनिक गरिएको छैन् । पार्टी भित्र तीव्र मतभेद चर्किदै गएपछि प्रधानमन्त्री ओलीले फाउण्डेशन मार्फत गतिविधि गर्न निर्देशन दिए लगत्तै उनको गृह नगरमा फाउण्डेशन बनाइएको स्रोतको दावी छ । पूर्व एमाले कार्यकर्ताहरुको हालै सम्पन्न भेलाले एमाले दमक नगर कमिटीका तत्कालिन अध्यक्ष अम्बिका खनालको अध्यक्षतामा फाउण्डेशन गठन गरिएको हो । सो समितिको प्रस्तावित समितिका सदस्यहरुमा विष्णु न्यौपाने, कृष्ण तिम्सीना, डिल्लीरमण पौडेल, इन्द्र गुरुङ, राम प्रधान, विश्व बराल, झसराज ढकाल, यमुना गौतम, नरपति पाण्डे र गिरेन्द्र चम्लागाई रहेका छन् । यस्तै तीन सदस्यीय एक सल्लाहकार समिति गठन गरिएको स्रोतले जनाएको छ । सल्लाहकार समितिमा बोधराज घिमिरे,बोधराज न्यौपाने, गेहनाथ अधिकारी लगायत रहेका छन ।
पूर्व एमालेका कार्यकर्ताहरु मात्रै सहभागी गराएर एकाएक फाउण्डेशन बनाइएपछि पूर्व माओवादीका नेताहरु स्थानीयस्तरमा पनि सशंकित छन । दमक नगरस्थित पूर्व माओवादीका एक नेताले भने – गोप्य रुपमा फाउण्डेशन गठन गर्नु र पार्टी केन्द्रमा नेतृत्वले पार्टी कमिटीका कुनै पनि तहको बैठक राख्न अस्विकार गर्नुले पूर्व एमालेका सिमित कमरेडहरुको नियतमाथि शंका उब्जिएको छ ।
हिजो मात्रै दमकमा नेकपाकी युवा नेतृ रामकुमारी झाक्री आएर आफू निकटका कार्यकर्ताहरुसंग भेटघाट र छलफल गरेकी थिइन । त्यहा सहभागी पूर्व एमालेका कार्यकर्ताहरुले ओलीको प्रभावमा रहेको दमकमा फरक विचार राख्ने कार्यकर्ताहरुमाथि ओली समुहका नेता कार्यकर्ताहरुले दबदबा राख्ने गरेको गुनासो गरेका थिए ।