दमक/ पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा झापा, मोरङ र सुनसरीका चार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत दुई जना महिलाको मृत्यु भएको हो ।
झापाको शिवसताक्षी–६ की २५ वर्षीया महिला र सुनसरीको दुहबीकी ६८ वार्षीया महिलाको मृत्यु भएको हो ।
शिवसताक्षीकी ति महिलालाई उपचारका लागि कात्तिक १५ गते नोबेलमा भर्ना गरिएको थियो । त्यस्तै सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उनलाई अस्पताल ल्याइएको थियो । त्यसैगरी धरान उपमहानगरपालिकामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–९ बस्ने ६७ वर्षीया र वडा नं १६ की ८१ वर्षीया महिला छन् ।
उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मधुमेह र मानसिक समस्या रहेकी धरान–९ की महिलालाई कात्तिक १८ गते कोभिड अस्पताल भर्ना गरिएकोमा कात्तिक १९ गते कोरोना पुष्टि भएको थियो । यसैगरी धरान–१६ की महिलालाई कात्तिक १९ गते कोरोना पुष्टि भएपछि कात्तिक २० गते कोभिड अस्पताल भर्ना गरिएको थियो । धरानमा कोरोना संक्रमणबाट हालसम्म ६८ जनाको मृत्यु भएको छ भने सुनसरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ ।