दमक/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आज बिहान ३ः२५ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
ती बालिकामा कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई भोलिपल्टै कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएपनि आज बिहान कोरोनाले उनलाई परास्त गरेको हो ।
यसैगरी धरान–१ सुनसरीकी ६१ वर्षीया महिलाको पनि आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । ६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।