आज वडा दसैं अन्तर्गत फूलपाती पर्व । दसैं पर्वको सरकारी बिदा पनि आजैबाट सुरु भएकाले फूलपातीदेखि दसैंको खास रौनक सुरु हुन्छ । आश्विन शुक्ल सप्तमीका दिन घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्रयाइँदैछ ।

हिन्दू धर्मावलम्बीले वैदिक विधिपूर्वक पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा फूलपातीका दिन शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन छ।

फूलपाती भित्रयाएपछि नवदुर्गाको विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ । यिनलाई नवदुर्गाका सहायक मानिन्छ ।
ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्रयाउने परम्परा छ ।

Facebook Comments Box