दमक/झापाको दमकमा केही समय अघि स्वयंसेवी महिलाहरुको सक्रियतामा स्थापना गरिएको असहाय मानव सेवा समाज नामक संस्थाको पहिलो साधारण सभा सम्पन्न भएको छ ।

हिजो संस्थाकी अध्यक्ष चेतना निरौलाको अध्यक्षतामा साधारण सभाको प्रकृया पूरा गरिएको हो ।
कोरोना संक्रमण भएपनि विधानत साधारण सभा गर्नैपर्ने व्यवस्था रहेकाले साधारण सभा सम्पन्न गरिएको अध्यक्ष निरौलाले जानकारी दिइन । दमकको सामाजिक क्षेत्रमा क्रियाशील महिला स्वयंसेवीहरुको अगुवाईमा २०७६ साल श्रावणमा सो संस्था स्थापना गरिएको थियो । सो संस्थाका पदाधिकारी सबै महिला छन । संस्थामा महिला पुरुष सबै अटाउन सकिन्छ तर अहिले पदाधिकारी सबै महिला नै छौं तर हाम्रो अभियानमा महिला पुरुष सबै उत्तिकै खटेका छौं– अध्यक्ष निरौलाले निष्कर्ष न्यूजसंग भनिन ।
सो संस्थामा आजिवन र साधारण सदस्य रहने व्यवस्था छ । सामाजिक क्षेत्रमा विशेष गरी सडक पेटीमा वेवारिसे अवस्थामा रहनु पर्ने बाध्यताका असहाय मानिसहरुको उद्धार र उनीहरुलाई समाजमा पुनःस्र्थापना गराउने मुख्य उद्धेश्य राखेर स्थापना गरिएको सो संस्थाले दमकमा यस अघि लकडाउनका समयमा संयौं असहाय नागरिकहरुलाई लक्षित गर्दै भोकालाई भोजन अभियान सञ्चालन गरेको थियो । दुई चरणमा सञ्चालन गरिएको सो अभियानमा संस्थामा आवद्ध स्वयंसेवीहरु आफैं खटिएर खाना पकाउने, प्याकेजिङ गर्ने र असहायहरुलाई बसेकै ठाउँमा पुरयाएर भोजन गराउने कार्यमा सक्रियतापूर्वक लागेका थिए ।
निरौलाको अध्यक्षतामा रहेको सो संस्थाको उपाध्यक्षमा सजु बुढाथोकी, पुनम रिजाल सचिव र सिता दुलाल कोषाध्यक्ष रहेका छन । सदस्यहरुमा कृष्ण भट्टराई,श्याम तिम्सिना, देवराज दंगाल, सहदेव भट्टराई, रमा दुलाल, अमृत विष्ट र तेजप्रसाद तिवारी रहेका छन । सो समितिको कार्यकाल ३ बर्षको रहने जनाइएको छ ।