दमक/ दशैं तिहार जस्ता ठुला चाडपर्व नजिकिएसंगै यातायात आवागमन तथा आम नागरिकहरुको सुरक्षाका बिषयमा अपनाउनु पर्ने सजगताका बिषयमा आज दमकमा सरोकारवालाहरुबीच छलफल भएको छ ।


दमक नगरपालिका मातहतको दमक यातायात तथा ट्राफिक व्यवस्थापन एवम शहरी सुदृढिकरण समितिले दमकको बसपार्कस्थित टर्मिनल भवनमा आयोजना गरेको छलफलमा १ नं प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्य रहेको थियो । छलफलमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, दमक नगरपालिकाकी कार्यवहाक प्रमुख गीता अधिकारी, यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण प्रसाद कोइराला, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगु , दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतको विशेष उपस्थिती थियो ।
दमक यातायात तथा ट्राफिक व्यवस्थापन एवम शहरी सुदृढीकरण समितिका अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा भएको सो छलफलमा बस व्यवसायी, हलुका तथा साना सवारी व्यवसायी, अटो टेम्पो, सिटी रिक्सा चालक संघ संगठन लगायतका प्रतिनिधिहरु सहभागी भएका बताइएको छ ।
सो अवसरमा दमकको ताराबारी ढाटमा यातायातका साधनहरुलाई अस्थाई रुट परमिट उपलब्ध गराउने, यात्रु बोक्ने साना तथा हलुका सवारी साधनहरुले अनिवार्य कालो नम्बर प्लेट लिने, रातो प्लेटका सवारी साधनहरुमा यात्रु नबोक्ने, यातायात तथा ट्राफिक नियमहरुको पूर्णपालना गर्ने, दमकको यातायात तथा ट्राफिक व्यवस्थापन सम्बन्धिको कार्यबिधि कडाइँका साथ लागू गर्ने लगायतका बिषयमा छलफल भई सो सम्बन्धिको प्रतिबद्धता गरिएको थियो । कोरोना महामारीका कारण सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गराउने पनि सहभागीहरुले प्रतिबद्धता जनाएका थिए ।

Facebook Comments Box