दमक/ झापाको दमकमा सडक पेटीमा रहेका असहायहरुलाई खाना खुवाउन शुरु गरिएको भोकालाई भोजन अभियानको दोश्रो चरण तत्काललाई स्थगित गरिएको छ ।


नागरिकस्तरबाट असहाय मानव सेवा समाजले लकडाउनका समयमा यस अघि चलाएको सो अभियान अन्तर्गत दैनिक कम्तीमा ३० देखि ७० जना सम्मलाई बसेकै ठाउँमा पुरयाएर खाना खुवाउने गरिएको थियो । अभियानको नेतृत्व गर्दै आएकी असहाय मानव सेवा समाज दमककी अध्यक्ष चेतना निरौलाले दमकमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिएका कारण तत्कालका लागि अभियान स्थगित गर्नुपरेको निष्कर्ष न्यूजलाई बताइन ।

पहिलो चरणमा गत जेठ ५ गतेबाट शुरु भएको सो अभियान २० असारमा स्थगित गरिएको थियो । ४५ दिन सम्म निरन्तर सञ्चालन भएको सो अभियानमा संलग्न अभियान्ताहरु र दमकका विभिन्न व्यक्तिहरुले आफनो जन्मदिन तथा बैबाहिक बर्षगाँठको अवसर पारेर आवश्यक खाद्यन्न सहयोग उपलब्ध गराएका थिए । दोश्रो चरणको अभियान गत २ असोजमा शुरु भएको थियो । २१ असोज सम्म सञ्चालन गरिएको सो अभियानमा दमक घर भई हाल अमेरिकाको क्यालिफोर्निया बस्दै आएकी लक्ष्मी सुवेदी पन्त र शारदा उदास श्रेष्ठ, दमकको ५ र ९ नम्बर वडा कार्यालय तथा दमक नगरपालिकाको विशेष सहयोग रहेको अध्यक्ष निरौलाले बताइन । अभियानमा संलग्न अभियान्ताहरु आफैं दैनिक सक्रिय रुपमा खटेर सामुहिक भान्सामा खाना पकाएर प्याकिङ गरि सडक पेटीमा भोकै बसिरहेका असहायहरु सम्म पुरयाएर खुवाउने गरेका छन ।

Facebook Comments Box