दमक/झापाको गौरादह १ मा गत सोमबार हत्या गरिएकी बृद्धा मनमाया भण्डारीको हत्याको घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले प्रमाणहरुका आधारमा सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले निष्कर्ष न्यूजसंगको कुराकानीमा भने– यो घटनाको अनुसन्धानमा हुने प्रगति भनेकै अपराधि समातिनु हो, अनुसन्धानका लागि सोधपुछको क्रम जारी छ , अनुसन्धानमा भनेको जो पनि पर्न सकिन्छ । प्रहरीले सो घटनाको अनुसन्धानमा मृतक बृद्धाका पति भीम भण्डारीलाई तानेको छ । जघन्य अपराध हो , अनुसन्धानले प्रमाणित गरेपछि सबै कुरा बाहिर आइहाल्छ– प्रवक्ता थापाले भने ।
विहीवार बेलुका प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएका भण्डारीमाथि थप अनुसन्धान आवश्यक देखेर प्रहरीले अदालतबाट म्याद थपको आदेश समेत लिएको छ । शुक्रवार (आज) जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान अघि बढाइएको प्रवक्ता थापाले जानकारी दिए । दुबै हात बाँधेर खाटमुनि लुकाइएको अवस्थामा मनमायाको शब गत असोज १२ गते अपरान्ह साढे ४ बजेतिर फेला परेको थियो । उनको शव सबैभन्दा पहिला पति भीमले नै देखेका थिए । उनले आफू बिहान ११ बजेपछि नै गौरीगञ्जतर्फ गएको त्यसबेला बताए पनि अनुसन्धानका क्रममा घटना हुँदा उनी संगै भएको खुल्न आएको प्रहरीको दाबी छ ।