इन्द्र भण्डारी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रदेश सम्पर्क कमिटी प्रदेश एकका अध्यक्ष हुन । उनी सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव पनि हुन । भण्डारी लामो समयदेखि अध्यक्ष ओलीका निकटतम सहयोगी नेताका रुपमा समेत चिनिन्छन । उनी अध्यक्ष ओलीका विश्वासिला पात्र पनि हुन ।

भण्डारी गत साता प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा निक्कै व्यस्त रहे । राष्ट्रिय अन्तराष्ट्रियस्तरका प्रस्तावित तथा चालू योजनाहरुको प्रगति र भावी सम्भावनाका बारेमा उनले स्थलगत रुपमै जानकारी पनि लिएका छन ।
प्रस्तुत छ काठमाडौं फर्किनु अघि निष्कर्ष न्यूजका कार्यकारी सम्पादक विष्णु पौडेलले दमकमा भण्डारीसंग गरेको कुराकानीको निष्कर्ष –
यता (दमक)तिर केही दिनदेखि निक्कै व्यस्त रहनु भएको छ , यसका पछाडी के कारण छ ?
स्वभाविक हो मेरो घर नै दमक भएकाले यहाँ आएर भेटघाट र कुराकानी हुनुलाई त्यस्तो आश्चर्यको बिषयका रुपमा लिइहाल्नु पर्दैन । खास म एउटा जिम्मेवारी लिएर तेह्रथुम गएको थिएँ । यता पनि अलि दिन केही कामहरुमा व्यस्त भएको हुँ ।
प्रधानमन्त्री ज्यू लामो समयदेखि झापातिर आउनु भएको छैन, त्यही कारण पनि तपाइँलाई केही विशेष रुपमा अह्राएर पठाउनु भएको हो कि ?
त्यस्तो पनि होइन । स्वभाविक हो । म मेरो जिम्मेवारी अनुसार सबैतिर पुग्छु । उहाँ ( सम्माननिय प्रधानमन्त्री ज्यू)ले नै पठाएर भन्दा पनि मेरो आफनै जिम्मेवारी निर्वाह गर्ने सिलसिला हो ।
स्वभाविक हो हामीे यहाँ आउँदा सार्वजनिक सरोकारका कतिपय कामहरु हुन्छन । सार्वजनिक पदमा रहेको मान्छे कतिपय आवश्यक कुराहरुमा आवश्यक मान्छेहरुसंग भेटघाट हुन्छ । केही महत्वपूर्ण राष्ट्रिय अन्तराष्ट्रिय योजना परियोजनाहरुका बारेमा विचार विमर्श हुन्छ । बजेट व्यवस्थापनदेखि नीतिगत कुराहरुमा छलफल हुन्छ । हामी आउँदा जाँदा केही नहुने भन्ने त हुँदैन होला ।
दमकमा राष्ट्रिय अन्तराष्ट्रिय योजनाको कुरा गर्दा ति योजनाको प्रगति चाहिं के हुँदैछ ? महत्वपूर्ण भनिएका योजनाहरु त फेल हुने भए भन्ने पनि चर्चा छ नि ?
हेर्नुहोस । दमकमा बुद्ध मुर्ति, औद्योगिक पार्क , भ्यू टावर, सिटी हल, कबर्ड हल निर्माणका योजनाहरु बढी चर्चामा रहेका योजना हुन । यि कुनै पनि योजनाहरु पूरा हुँदैनन भन्ने शंका गर्नुपर्दैन । यि भनेका दमकलाई देश विदेशमा चिनाउने महत्वपूर्ण र गौरवका योजना हुन । यि सबै योजनाहरुमा सम्माननिय प्रधानमन्त्री ज्यूको विशेष चासो र चिन्ता मात्रै छैन आवश्यक निर्देशन पनि छ ।
बुद्ध मूर्तिको कुरा गर्ने हो भने २८ बिगाहा जग्गाको बन्दोबस्ती भइसकेको छ । २० बिगाहा जग्गा वन मन्त्रालय मातहतको हो त्यो प्राप्तीको प्रकृया पूरा भइसक्यो । आठ विगाहा जग्गा त्यहाँका स्थानीयबाट प्राप्त भइसकेको छ ।
गत आर्थिक बर्षमा त्यहाँको जग्गा घेराबाराका लागि प्राप्त एक करोड रुपैयाँ मध्ये टेण्डर प्रकृयाबाट काम नै सकिइसकेको छ । भ्यू टावरको योजना देखि राखिएको छ । धमाधम कार्यन्वयन भइरहेकै छ । सिटी हल ( दमक सभा गृह) निर्माण सकिनै लागेको पाइएको छ । औद्योगिक पार्क निर्माणको काम कोभिडको कारण मात्रै अलिकति पछि धकेलिएको हो । अब अन्तराष्ट्रिय नाका खुल्ने बित्तिकै त्यसले निरन्तरता पाउँछ ।
औद्योगिक पार्कको योजनाबाट त चिनियाँ कम्पनी पछाडी हटिसक्यो भन्ने कुरा छ नि ?
त्यो सबै आधारहिन कुरा हो । त्यहाँ जग्गा अधिग्रहणको काम धमाधम भइराखेकै छ । एक पटक शिलान्यासको कार्यक्रम पछाडी सर्दा यसका बिषयमा गलत प्रचार भएको मात्रै हो । वास्तवमा त्यस्तो कुराको विश्वास नगरौं, हामी ढुक्क हौं औद्योगिक पार्क बन्छ । त्यहाँँ करिब करिब १२/१३ सय विगाहा जग्गा प्राप्तिको अन्तिम चरणमा छ । मुआब्जा वितरण भइराखेकै छ । यि बाहेक बरु दमकमा पछिल्लो समय थपिएको अर्को योजना भनेको बहुतले बसपार्क हो । यसको डीपिआर निर्माणको काम भइराखेको छ । यो २०० करोडको प्रोजेक्ट हो ।
त्यति मात्रै होइन दमकले अहिले स्वास्थ्य क्षेत्रमा पनि राम्रो फडको मारेको छ । दमक अस्पताल भर्खर सम्म एउटा स्वास्थ्य केन्द्रका स्वरुपमा थियो । अहिले त्यहाँ ५० बेड क्षमताको अस्पताल भवन निर्माणको काम तत्कालै शुरु हुँदैछ । आम्दा अस्पतालमा ३ वटा भेन्टिलेटरसहित लाखौं मुल्यका स्वास्थ्य सामग्री हस्तान्तरण भइसकेको छ । आम नागरिकमा सरकारी स्वास्थ्य सेवाको पहुँच पुरयाउने कुरामा दमकले ठुलो फडको मारेको छ ।
दमक, कमल र गौरादहको समेत साझा समस्याका रुपमा बर्षौदेखि रतुवा मावा खोला कटानको समस्या छ , यि खोलाहरु मर्जको कुरा पनि आएको थियो के हुँदैछ ?
वास्तविक रुपमै यो यहाँको साझा समस्या हो । यसको पनि समाधान निस्कि सकेको छ । तपाइँहरुले भने जस्तो खोला मर्ज चाहिं होइन ,साना तिना खोलाको माथिल्लो मुहानमा नै रोकेर अर्को ठुलो खोलामा त्यसको बहाब फर्काउने भन्ने पहिला कुरा थियो तर त्यो बिषय अध्ययनकै क्रममा छ । अहिले यहाँको रतुवा मावा खोलाको दिगो तटबन्धनका लागि ८० करोड माथिको योजनाको लागि ठेक्का आव्हान भइसकेको छ । अब प्रकृया पुरा भएपछि यसैपाली यि दुवै खोलाको दिगो तटबन्धन हुनेछ । चुलाचुली, मधुमल्ला यि दुवैतिर जोडने खोलामा पक्की पूल बनिसकेका छन । अझै एउटा ठुलो पूलको योजनाले पनि दमकलाई जोडदैछ ।
यि सबै कुराहरुलाई हेर्ने हो भने अब हेर्नुस दमक अब इलाम, पाँचथर, ताप्लेजुङ र दक्षिणमा भारतसंग समेत जोडने गौरीगञ्जसंगको सहज सम्पर्कको माध्यम बनिरहेकोले अब दमक साँच्चिकै ठुलो व्यवसायिक र पर्यटकीय हब बन्छ । यसमा सम्माननिय प्रधानमन्त्री ज्यूको विशेष ध्यान छ । उहाँ त यो क्षेत्रबाट निर्वाचित भएर देशकै प्रधानमन्त्री बन्नु भएको छ भने यो क्षेत्रबासीले यो क्षेत्रको बिकासलाई साझा सरोकारको बिषय बनाएर अगाडी बढे मदन भण्डारी रंगशाला र दमकको बहुतले बसपार्क निर्माण समेत चाँडै अगाडी बढनेछ ।