दमक/ सरकार र प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवालाई संबैधानिक आयोगको नियुक्तिमा आफना अनुकुलका मान्छे नखोज्न पूर्व सभामुख एवं कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुझाव दिएका छन ।
पछिल्ला दिनमा संवैधानिक निकायका निर्णय र कृयाकलापबाट आम नागरिक निराश भइरहेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत वरिष्ठ नेता पौडेलले देश र जनतालाई सुशासन दिलाउन अख्तियार लगायतका संवैधानिक निकायको निष्पक्षता, तटस्थता र स्वतन्त्रता अपरिहार्य रहेको समेत उल्लेख गरेका छन । उनले भनेका छन– संविधानले तोकेको मापदण्डबाट यताउती नगरी संवैधानिक परिषदले समाजका विश्वसनीय र भरपर्दा व्यक्ति खोजेर आयोगहरुका प्रमुख आयुक्त र आयुक्तहरु नियुक्त गर्नु पर्छ । प्रधानमन्त्री , विपक्षी दलको नेता वा सभामुखले संबैधानिक निकायमा नियुक्तिका लागि आफ्नै अनुकूलका मान्छे खोज्न लाग्ने हो भने आयोगहरुको औचित्य नरहने समेत स्पष्ट गरेका छन ।