दमक/संविधान दिवसको अवसर पारेर नेपाल सरकारले घोषणा गरेको विभिन्न पदक पाउनेहरुका बिषयमा सामाजिक सञ्जालहरुमार्फत विभिन्न चर्चा परिचर्चा बाहिर आइरहेका छन ।
दमक नगरपालिकाकी उपप्रमुख गीता कुमारी पौडेल अधिकारी र प्रमुख प्रशसकिय अधिकृत गणेश प्रसाद तिम्सिना पनि प्रवल जनसेवा श्री (चतुर्थ)“ पदकले विभुषित हुने व्यक्तित्वका सूचीमा परेका छन । देशभर प्रबल जनसेवा श्री (चतुर्थ) २४२ जनाले पाइरहँदा त्यस्तो सम्मानित पदक प्राप्त गर्ने सूचीमा परेकी गीता कुमारी पौडेल अधिकारीका बिषयमा निष्कर्ष न्यूजले प्राप्त गरेका केही तथ्यहरु यहाँ प्रस्तुत गरिन्छ ।
को हुन गीता ?
गीता कुमारी पौडेल अधिकारी २०७३ सालको स्थानीय तहको निर्वाचनबाट दमक नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएकी हुन ।
झण्डै ३ दशक अर्थात २७ बर्ष लामो प्राध्यापन पेशामा रहेकै बखत तत्कालिन नेकपा एमालेको तर्फबाट दमक नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार भई निर्वाचित भएपछि उनमा फरक खालको जिम्मेवारी आइलाग्यो ।

सामान्य परिवारमा जन्मिएर झापाको गौरीगञ्जमा बाल्यकाल बिताएपछि उच्च शिक्षाका लागि काठमाडौं बसाइका क्रममा आमाको आग्रह अनुसार दमकका मदन अधिकारीसंग बैबाहिक जिवन शुरु गरेकी उनको जिवनका शुरुवाती दिनहरु निक्कै संघर्षपूर्ण रहेको जिवनीबाट प्रष्ट हुन्छ ।
उनी एक संघर्षशील, बौद्धिक , सफल र सक्षम नारीका रुपमा आफूलाई निक्कै कठोर मेहनत परिश्रमबाट उभ्याउन सफल भएको उदाहरणहरु प्रशस्त छन ।
सक्रिय राजनीतिमा कम पेशागत जिम्मेवारी धेरै
अहिलेसम्म राजनीतिमा कम र शैक्षिक क्षेत्रमा धेरै समय विताएकी उपप्रमुख गीताको राजनीतिक आबद्धता भने पुरानै हो । तर उनले सक्रिय राजनीति गरिनन ।
२०४६ सालमा अखिल नेपाल महिला संघको साधरण सदस्यता लिएर राजनीतिमा प्रवेश गरेकी हुन् ।
उनी नेपाल बुद्धिजिवी परिषद् झापाको उपाध्यक्ष, दुई कार्यकाल सम्म नेकपा एमाले दमक नगर समिति सदस्य अनेमसंघ जिल्ला सल्लाहकार सदस्य, तथा नेपाल प्रगतिशील प्राध्यापक संगठन दमक बहुमुखी क्याम्पसको इकाई अध्यक्ष समेत भएकी थिइन ।
शिक्षण पेशा संगसंगै उनले राजनीतिलाई समेत निरन्तरता दिँदै आए पनि स्थानीय तहको निर्वाचन अघि सम्म उनको सार्वजनिक पहिचान भने एक प्राध्यापकको रुपमा मात्रै थियो भने पनि हुन्छ ।
उनले २०४७ साल देखि निर्वाचनको करिब डेढ÷दुई महिना अघि सम्म दमक बहुमुखी क्याम्पसमा अध्यापन गराईन् । उनी क्याम्पसमा सहप्राध्यापकका रुपमा प्राध्यापन गर्दै आएकी थिईन् । छिट्टै उनले क्याम्पस प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्ने सम्भावना हुँदा हुँदैपनि पार्टीको विशेष आग्रह र अनुरोधमा उनी उपप्रमुखको उम्मेदवार भइन र त्यसै अनुसार बहुसंख्यक मतदाताहरुले उनलाई उपप्रमुखमा आफनो अमुल्य मत प्रदान गरे । अधिकारी भन्छिन –म शिक्षा क्षेत्र बाटनै आएको हुँ ।
मैले दमक बहुमुखी क्याम्पसमा अध्यापन गराएर शिक्षा मार्फत गरेको सेवाको परिणाम पनि हो – अधिकारी भन्छिन ।
राजनीतिमा पनि समाजसेवाकै लागि आएको हुँ । शिक्षामा मेरो अनुभव र अर्थशास्त्रको अध्ययनबाट पाएको ज्ञान यो समाजका लागि उपयोग गर्न आएकी हुँ । म सके सम्म अब यहि क्षेत्रमा आफुलाई समर्पित गर्न चाहन्छु ।
जनप्रतिनिधिको भुमिकामा यसरी देखाइन सक्रियता
त्यसो त उपप्रमुखको हैसियतामा नगरमा अन्य जिम्मेवारीहरु पनि छन । नगरपालिकाको शिक्षा समिति र न्यायिक समितिको संयोजकको जिम्मेवारी उपप्रमुखको हैसियतले स्वत प्राप्त भएको जिम्मेवारी हो ।
दमकमा स्थानीय तह मातहतको न्यायिक समितिमा परेका उजुरी तथा गुनासोहरुमाथि सुनुवाई गर्न छुट्टै इजलाशको व्यवस्था छ । यसप्रकारले इजलासनै सञ्चालन गर्ने प्रदेश नं १ मा दमक नगरपालिका लगभग पहिलो हो । यहाँको शिक्षा समितिले नगरका सामुदलायिक विद्यालयहरुमा मन्टेश्वरी विधिबाट पठनपाठन सञ्चालनको अभ्यास गरिसकेको छ भने बाल विकास केन्द्रहरुलाई सुविधायुक्त बनाउन, सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउन, आर्थिक विपन्नताका कारण विद्यालय जान नसकेका बालबालिकालाई नियमित अध्ययनको वातावरण बनाउन उनको महत्वपूर्ण योगदान छ ।
हिंसा पीडित महिलाहरुका लागि छुट्टै सुरक्षित घरको व्यवस्था गरेर उनीहरुलाई समाजमा पुर्नस्थापित गर्ने दुरदृष्टि उपप्रमुख अधिकारीले नै राखेकी हुन । त्यसैका आधारमा अहिले दमकमा महिला सेफ हाउस सञ्चालित छ ।
लागूऔषधमा फसेका बालबालिका तथा युवायुवतीहरुलाई आवश्यक उपचार र मनोपरामर्श सेवा प्रदान गरेर समाजमा पुर्नस्थापित गराउने काममा उनको भुमिका प्रमुख छ । दमक नगरलाई बालश्रम मुक्त बनाउन, यहाँका बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गराउने किसिमका विशेष कार्यक्रमहरु उनकै भिजन अनुसार अघि बढाइएका हुन । दमक १ स्थित दमक अस्पतालको सञ्चालक समिति अध्यक्षको हैसियतले उपप्रमुख अधिकारीले यस अस्पतालबाट प्रदान गरिने सेवालाई चुस्त र झण्झटरहित बनाउन र सर्वसाधारणको पहुँच सरकारी अस्पतालमा बढाउन उनले निर्वाह गरेको भुमिका प्र्शंसनिय छ ।
कोरोना संक्रमणले विश्वव्यापी रुपमा प्रभाव पारिरहँदा भएको लकडाउनको कारण दैनिक जिवनयापनमा समस्या भोगिरहेका मजदुर तथा विपन्न नागरिकहरुलाई एकद्धार प्रणालीबाट राहत प्रदानका लागि सबैपक्षसंग सहकार्य र समन्वयको वातावरण बनाउने कुरामा उनले निर्वाह गरेको भुमिका उत्तिकै प्रशंसनिय छ भने स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनहरुमा महिला पुरुष एकै ठाउँमा राख्दा भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै दमकमा महिला क्वारेन्टाइन छुट्टै स्थापना गरेर विदेशबाट फर्किएका महिलाहरुलाई सहज बनाउन उनको भुमिका महत्वपूर्ण छ । दमकका महिला उद्यममा पहिला भन्ने उदघोषसहित दमकमा यहाँका एकल महिलाहरुलाई प्रोत्साहन गर्दै अर्थोपार्जनमा लाग्न प्रेरित हुने कार्यक्रम सञ्चालित छ ।