दमक/ झापाको दमकका सडक पेटीमा अलपत्र अवस्थामा रहेका असहायहरुलाई खाना खुवाउन पुनः भोकालाई भोजन अभियान शुरु भएको छ ।

असहाय मानव सेवा समाज दमकले यस अघि कोरोना संक्रमणका कारण लगाइएको लकडाउनका कारण अलपत्र परेकाहरुलाई लक्षित गरेर थालेको भोकालाई भोजन अभियान पछिल्ला दिनहरुमा स्थागित थियो ।
तर अहिले पनि सडकमा असहायहरु भोकभोकै भौतारिएर बसेको भेटिएका कारण पुन यो अभियान सूचारु गर्नु परेको सो समाजले जनाएको छ । समाजकी उपाध्यक्ष सजु बुढाथोकीले मानवीय सेवाको भावना राखेर यो अभियानलाई पुनः निरन्तरता दिइएको बताइन् । शुक्रबारदेखि शुरु भएको सो अभियानको दोश्रो चरण अन्तर्गत पहिलो दिन ३६ जनालाई बसेकै ठाउँमा लगेर स्वयंसेवीहरुले भोजन गराएका छन । सो संस्थाका पदाधिकारी एवम सदस्यहरु स्वयंसेवकका रुपमा आफैं प्रत्यक्ष संलग्न भएर असहाय मानिसहरुलाई भोजन गराउने गर्छन । सो अभियानको प्रशंसा गर्दै हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम यहाँका सामाजिक व्यक्तित्व सुदिप पन्तले सो अभियानमा नगद एक लाख रुपैयाँ सहयोग समेत प्रदान गरेका उपाध्यक्ष बुढाथोकीले जानकारी दिइन ।