दमक/प्रदेश एक अन्तर्गत मोरङ, सुनसरी र उदयपुरमा आज एकैदिन पानीमा डुबेर दुई नाबालकसहित तीन जनाको ज्यान गएको छ । मोरङको रङगेली नगरपालिका ३ को डोलेन्द्र बिष्टका डेढ बर्षिय छोरा सोमरात बिष्टको नहरको पानीमा डुबेर मृत्यु भएको हो ।
आज दिउँसो करिव २ बजे बिष्टको घरदेखि करिव १५० मिटर पूर्वमा रहेको नहरको पानीमा डुबेर बालक मृत अवस्थामा फेला परेका ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ ।
त्यसैगरी सुनसरीको दुहवी ८ की १० बर्षिया नन्दनी ऋषिदेवको घर नजिकै जमेको पानीमा डुबेर मृत्यु भएको छ । दिउँसो ३ बजेको समयमा घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी उनको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । उनका साथीहरुले डुबेको देखेपछि तत्काल उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका ३ का ५५ बर्षीय पदम मगरको धपड खोलाले बगाएर मृत्यु भएको छ । बुधवार साँझ पौने ७ बजेको समयमा घरबाट बिरेन्द्रबजार तर्फ जाँदै गर्दा बिच बाटोमा रहेको धपड खोला तर्ने क्रममा अचानक खोलाको बाढीले बगाएर बेपत्ता भएका मगरलाई खोजतलास गर्ने क्रममा आज बिहान साढे ९ बजे मृत अवस्थामा फेला पारिएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

Facebook Comments Box