झापाको शिवसताक्षी नगरपालिका वडा नं ६ को समुदायमै कोरोना संक्रमण फैलिएपछि यहाँको अवस्था अस्तव्यस्त छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले गरिरहेका काममा धेरै कमी कम्जोरीहरु भइरहँदा यसबाट शिवसताक्षी पनि अछुतो छैन । तथापी आफनो क्षमताले भ्याएसम्म जनतालाई परेको यो अप्ठयारोमा सारथी बन्ने केही जनप्रतिनिधिहरुको सक्रियता साँच्चिकै प्रशंसायोग्य पनि छन । वडाध्यक्षको हैसियतमा नगरपालिकाबाट पाउने मोटरसाइकलको सुविधा समेत नलिएका, उमेरले झापा जिल्लामै कान्छो वडाध्यक्षका रुपमा निर्वाचित भएका यो वडाका वडाध्यक्षको कामको उचाई भने बढेको छ । प्रस्तुत छ नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भई जिम्मेवारी सम्हालिरहनु भएका वडाध्यक्ष मनोज खुलाल कार्कीसंग कोरोना नियन्त्रण, वडाका कार्यक्रमहरु र विकास गतिबिधिका बिषयमा निष्कर्ष न्यूजले गरेको कुराकानीको निष्कर्ष–

तपाइँको वडामा समुदायस्तरमै कोरोना संक्रमण बढेको छ, के अवस्था ?
विश्वमै महामारीको रुप लिइसकेको कोरोना संक्रमणबाट शिवसताक्षी ६ अछुतो रहन सकेन । अन्य ठाउँको तुलानमा अलि ढिलो गरि समुदायमा कोरोना देखिएपछि वडाबासीहरु चिन्तित हुनु स्वभाविक हो । हामी स्थानीय जनप्रतिनिधिहरुलाई पनि यो समस्याले पिरोलेको छ । अहिले सम्म समुदायमै नाबालकदेखि बृद्धबृद्धा सम्म हाम्रो वडामा एक दर्जन हाराहारीमा वडाबासीहरुमा कोरोना पोजिटिभ देखिएको छ । हामी वडाले मात्रै यसको रोकथाम र नियन्त्रणका लागि गर्न सक्ने पहलमा कमि गरेका छैनौं । हामी जनताको प्रतिनिधि हुनुका नाताले सबै जनप्रतिनिधिहरु कोरोनाका बिरामीसंग भेटघाट र कुराकानीमा छौं । उहाँहरुको स्वास्थ्य अवस्थाको बारेमा क्षण क्षणमा जानकारी लिने र स्वास्थ्यकर्मीहरुबाट आवश्यक परामर्श, उपचार सेवा घर घरमै गएर दिदै आएका छौं । मैंले भन्ने गरेको छु कोरोनाको मात्रै होइन समस्यामा एक कल फोन गर्नुस हाम्रो वडाको तर्फबाट वडाबासीको हर समस्यामा उपस्थिती रहन्छ । हाम्रो बल बुता , र ज्ञानले भ्याए सम्म हामी तपाइँहरुको समस्या समाधानमा लाग्नेछौं ।
वडाबासीका समस्यामा पुगेर मात्रै भएन होलानि कोरोनाका बिरामीको उपचारका लागि चाहीं के व्यवस्था गर्नु भएको छ ?
नगरपालिकाले एउटा बिद्यालयमा आएसोलेसन कक्ष सञ्चालन गरेको छ । संक्रमितहरुलाई त्यहाँ राख्ने र आवश्यक स्वास्थ्य उपचार गर्ने गरेका छौं । केन्द्र सरकारबाट भर्खरै ५ बेडको आइसोलेसन सबै स्थानीय तहमा बनाउन सर्कुलर भएपछि हामीले नगर प्रमुख ज्यूको अध्यक्षतामा रहेको कोरोना रोकथाम नियन्त्रण समन्वय समितिको बैठक बसेर तत्काल थप आइसोलेसन कक्ष बनाउने निर्णय गरेका छौं । यसमा चाहिने स्वास्थ्यकर्मी जनशक्तिको व्यवस्थापन हामीबाट मात्रै सम्भव नहुने रहेछ । त्यसका लागि स्वास्थ्य विभागसंग पनि हाम्रो कुराकानी भइरहेको छ । माथिल्लो तहका सरकारबाट स्थानीय सरकारलाई कोरोना नियन्त्रण र रोकथामका लागि न्यून बजेट उपलब्ध हुँदा चुनौतीनै छ । तथापी हामी आफनै साधन स्रोतबाट पनि सके सम्म जुटेका छौं ।
वडाका तर्फबाट भइरहेका अन्य काम कार्यक्रमहरु के कस्ता छन ?
पहिलो त हामी गत आर्थिक बर्षको चैतदेखिनै कोरोनाको महामारीबाट पीडित हुन पुग्यौं । पहिला हामीलाई अन्य देशको अवस्था हेर्दा के कसो हुने हो भन्ने निक्कै त्रास भयो । हामी सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गराउनमा केन्द्र्रित भयौं , जसका कारण हामीले वडामा जे सोचेका थियौं , जस्तो प्लानिङ गरेका थियौं त्यस अन’सार काम गर्न सकेनौं । हामीले ज्यान भन्दा अरु कार्यक्रम र विकासे योजनालाइँ महत्व दिन सक्ने अवस्था थिएन । हाम्रो बजेट पनि कटौती भयो । त्यसका बाबजुद हामीले वडामा सबै क्षेत्र समुदाय र वर्गलाई समेटने किसिमका कार्यक्रमहरु गयौैं । महिलाहरुलाई उद्यमी बनाउन हामीले उनीहरुको सीप विकासका लागि कपडा सिलाउनेदेखि झोला बुन्ने तालिम प्रदान गरिसकेका छौं । कतिपयले आफनो सिकेको सीपलाई उपयोग पनि गरिरहनु भएको छ । ज्येष्ठ बुबा आमाहरुलाई हामीले मनोविमर्श तालिमसंगै सम्मान कार्यक्रम गर्यौ । जसले बुबा आमाहरुलाई यो उमेरमा चिन्तामुक्त भएर सहज जीवनयापनमा सहयोग पुरयाएको छ प्रोत्साहन मिलेको छ भन्ने हामीलाई विश्वास छ । विद्यालयहरुमा बाल क्लब मार्फत बालबालिकाहरुको क्षमता अभिवृद्धिका लागि रचनात्मक कार्यक्रमरु गरेका छौं । खेलक’दमा प्रोत्साहन गरेका छौं ।
वडाका योजनाहरुको कुरा गर्दा वडास्तरको एउटा खेलकुद मैदान निर्माणको काम अघि बढाएका छौं । जसमा वडा र नगरपालिकाको समेत राम्रो सहयोग र समन्वय रहेको छ । नगर प्रमुख ज्यू स्वयंले यो वडालाई महत्वका साथ कामहरु गर्न प्रोत्साहन गरिरहनु भएको छ । अन्य जनप्रतिनिधि र नगरपालिकाका प्राविधिक, प्रशासनिक कर्मचारीहरुबाट पनि वडाको विकास र उन्नतीका लागि सबै किसिमका सहयोगहरु गर्नुभएको छ ।
चालू बर्षमा वडाले के कस्ता कामलाई प्राथमिकतामा राखेको छ ?
मैंले अघि पनि भनें हामी अहिले कोरोना महामारीसंग जुध्ने ठूलो चुनौतीका बीच उभिएका छौं । हामीले कार्यक्रमम योजनाहरु त राखेका छौं यद्यपी यो महामारीले हामीलाई कहाँ कुन अवस्थामा पुरयाउँछ भन्ने नै सबभन्दा धेरै चिन्ताको बिषय बनाएको छ । यदि हामीलाई समयले साथ दिएछ भने यो वडामा हामी कोरोनाको असरका कारण देश विदेशका विभिन्न ठाउँबाट वडामा फर्किनु भएका वडाबासी यूवाहरुलाई कृषि कर्ममा प्रोत्साहन गर्ने खालका कार्यक्रमहरु हामीलाई अघि सारेका छौं । हामीलाई पशु बीमाको कार्यक्रम ल्याउँदैछौं ।
किसानहरुलाई बीउ विजनदेखि कृषि उपकरण र उत्पादित कृषि बस्तुको बजारीकरणमा सघाउने खालका कार्यक्रमहरु हामीले बनाएका छौं । यहाँको प्रमुख कृषि योजनाका रुपमा हामीले केन्द्र सरकारको कृषि पशु पक्षीं मन्त्रालय अन्तर्गतको विभाग मार्फत यहाँ आधुनिक कृषि उपज बजार निर्माणको काम तीब्र गतिमा अघि बढाएका छौं । शिवगञ्ज बजार क्षेत्रमा सार्वजनिक शौचालयको अभावलाई मध्यनजर गरेर शौचालय निर्माणको योजनामा पनि बजेट विनियोजन गरेका छौं ।
झापा जिल्लाकै एउटा पुरानो बजारका रुपमा रहेर पनि व्यवस्थित हुन नसकेको शिवगञ्ज बजारको मुहार फेर्ने काममा कृषि बजार, सार्वजनिक शौचालय र यहाँको आशिंक क्षेत्रमा भएपनि टायल विछ्याउने हाम्रो योजना छ । यहाँका सडकहरु लगभग ९० प्रतिशत ग्राभेल गर्ने काम भएको छ । नगरपालिकाले तोकेको मापदण्ड भित्र पर्ने सडकहरुको स्तरोन्नतीको कामलाई पूर्णता दिन हामी लागिपरेका छौं । विजुलीका पोलहरुको व्यवस्थापनमा पनि ९० प्रतिशत काम पूरा भएको छ । विकास भनेको निरन्तर चलिरहने प्रकृया हो , आवश्यकताहरु धेरै छन । एउटा सकिएपछि अर्को आवश्यकता देखिन्छ यो सबै निरन्तर प्रकृया भित्र पर्ने कुरा रहेछ हामी जनप्रतिनिधिले कमसेकम जनताका हर दुखमा साथी बन्न सकौं भन्नेमा हाम्रो ध्यान छ ।
यो वडामा माथिल्लो तहका सरकारबाट अपेक्षा राखिएका योजनाहरु चाहिं के हुन त ?
यहाँको मुख्य चुनौती भनेकै खोला नदीको कटान , डुबान र खोला नदी वारपार आवागमननै हो । कन्काई, मकलडुब्बा, कमल बनियानी र सतासी खोलाको चपेटामा छ हाम्रो वडा ।
यहाँको नदिकटान नियन्त्रणका लागि दीर्घकालिन योजना हामीलाई चाहिएको छ । बजार पूर्व मदरगाछ तर्फ जाने ठाउँमा कन्काई नदीमा तत्काल पूलको आवश्यकता छ । यसको माग गर्दै वडा कार्यालयले सबै प्रकृया पूरा गरेर केन्द्र सरकार समक्ष योजनाको माग गरेको छ । यसमा संघीय सांसद एलपी साँवा, प्रदेश संसद सदस्य झलकसिंह दर्लामी लगायत यहाँका राजनीतिक पार्टीहरु, उद्योगी व्यवसायीहरु , पूर्व कर्मचारीहरु, सबैले साथ र सहयोगको भावना राखेर आआफनो ठाउँबाट पहल गरिरहनु भएको छ । समग्रमा भन्दा वडाले नगरपालिका, माननिय ज्यूहरुमार्फत माथिल्लो तहका सरकारहरुसंग समन्वय गरेर वडाबासीको पक्षमा काम गरिरहेको छ ।
तपाइँ विद्यार्थी राजनीतिमा छदैं वडाध्यक्षमा निर्वाचित हुनु भयो अब कांग्रेसको महाधिवेशन पनि आउँदैछ पार्टी राजनीतिमा तपाइँको इच्छा होला नि ?
स्वभाविक प्रकृया हो । विद्यार्थी, तरुणमा राजनीति गर्दै पार्टी राजनीतिमा सक्रिय हुने हो । तर यो बेला मैंले पार्टी राजनीतिलाई प्राथमिकतामा राखेको छैन । एकातिर म जनप्रतिनिधिको भुमिकामा छु । मेरो जिम्मेवारी वडाबासी जनताको काममा छ । पार्टीले मेरो काम र सक्रियतालाई मुल्याङकन गर्ने कुरा हो । नेता कार्यकर्ताहरुले त्यो मुल्याङकन गरिरहनु भएको होला । यतिबेला कोरोना महामारी र सिंगो शिवसताक्षी ६ को जिम्मेवारीले गर्दा पार्टी अधिवेशनका बिषयमा ध्यान लगाउन पाएको छैन । पार्टीको जिम्मेवारीमा रहनुहुनेहरुले आफनो सक्रियता देखाइरहनु भएकै छ भन्ने लाग्छ ।