दमक/ नेपाल विद्यार्थी संघ झापाले विभिन्न समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराउँदै खबरदारी गर्ने भएको छ ।
रौतहटमा भएको हत्याकाण्ड र आम नेपाली किसानले रासायनिक मल नपाएको बिषयमा विज्ञप्तीमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आज विर्तामोडमा सांकेतिक विरोध स्वरुप खबरदारी सभा गर्दै जिल्ला प्रशासन कार्यालय चन्द्रगढी झापामा पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र ब’झाउने कार्यक्रम सार्वजनिक गरेको छ ।
संघका निवर्तमान केन्द्रिय सदस्य सन्तोष उप्रेतीको नेतृत्व र जिल्ला उपसभापति भवानी काफ्लेको संयोजकत्वमा आज दिउँसो १२ बजे मुक्ति चोकमा प्रदर्शन गरेर २ बजे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापान पत्र बुझाउने कार्यक्रम रहेको संघका जिल्ला सभापति राजेन्द्र उप्रेतीले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा रौतहटमा भएको एउटा हत्याकाण्ड र त्यसका आरोपी समेतको मृत्यु भएपछि घटना थप हस्यमयी बनेको भन्दै सो बिषयमा सत्यतथ्य छानविन गरेर दोषीको पहिचान गरी कानुनी कारवाहीको दायरमा ल्याउन माग पनि गरिएको छ । गत ३२ श्रावणमा रौतहटको गरुडा नपा वडा नं ८ मा २० बर्षिय दलित युवा निरञ्जन रामको घाँँटी रेटेर हत्या भएको थियो । सो घटनाको अनुसन्धानका सिलसिलामा पक्राउ परेका भनिएका विजय रामको पनि विरगञ्जमा मृत्यु भएकोले घटना थप रहस्यमयी बनेको भन्दै निष्पक्ष ढंगबाट सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारवाही गर्न जारी विज्ञप्तीमा माग गरिएको छ । यसैगरी मुलुकको अर्थतन्त्रको विकासमा महत्वपूर्ण हिस्सा ओगटने कृषि क्षेत्रलाई सरकारले उपेक्षा गरेको र मल समेत उपलब्ध नगराएको भन्दै आम सरोकारका बिषयमा ध्यानाकर्षण गराइने पनि विज्ञप्तीमा उल्लेख छ ।