दमक/ अर्को निर्णय नभए आउँदो ६ महिना भित्र नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने कार्यतालिका छ । यद्यपी कोरोना संक्रमणका कारण हाल अधिवेशनको कार्यतालिका भने प्रभावित छ ।
फाग’नमा यदि अधिवेशन नभए बढीमा बैशाख सम्म मात्रै लम्ब्याएर भएपनि अधिवेशन गर्नैपर्ने दबाबपनि कांग्रेस वृत्तमा छ । यसका बाबजुद अधिवेशन लक्षित दौडधुपले भने कांग्रेसलाई गाउँ नगरदेखि केन्द्र सम्म तातो लगाएको छ । अधिवेशन सन्मुखमा आइरहँदा कांग्रेसले धमाधम विभिन्न विभागहरुको गठन गर्ने क्रम चलाइरहेको छ । तर नेतृत्वको यो कार्यशैलीको विरोध तल्लो तहदेखिनै भइरहेको छ । केन्द्रमा नेताहरु विभाग गठनका बिषयलाई लिएर विभाजित छन् ।

आज मात्रै वरिष्ठ नेता रामचन्द्र पौडेल समुह ले नेतृत्वको कार्यशैलीका बिषयमा असन्तुष्टि जनाउँदै छुट्टै केन्द्रीय बैठक आयोजना गरेको छ । पौडेल पक्षले मुख्य तीन कुरामा असन्तुष्टि जनाउँदै त्यसका विरुद्ध अनशन बस्ने सम्मको चेतावनीसहितका आन्दोलनका कार्यक्रम तय गर्न भेला बोलाएको बताइएको छ । कांग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य गुरुराज घिमिरेले नेतृत्वको गलत कार्यशैली विरुद्ध कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल हुने बताए ।
नेता घिमिरेले सुरुमा सभापतिलाई निर्णय सच्याउन ३ दिनको अल्टिमेटम दिने, त्यसपछि धर्ना दिने, त्यसबाट पनि मागको सम्बोधन नभए अनशन बस्ने भन्नेबारे छलफल भइरहेको बताए ।
सो पक्षले हाल भइरहेको विभाग गठन, क्रियाशील सदस्यता वितरण र भातृसंस्थाको कार्यकाल थपका बिषयमा आपत्ती जनाउँदै आएको छ । यिनै बिषयमा केन्द्रिकृत भएर छलफल हुने बताइएको छ ।
बुधबार र बिहीबार थप २ विभागमा ९६ जनालाई मनोनयन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आक्रोशित बनेको हो ।
सभापति देउवाले पछिल्लो पटक एनपी साउद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभाग र प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेपछि पौडेल पक्ष थप आक्रोशित बनेको छ । कांग्रेस नेता कृष्ण सिटौला पक्षधरहरुले पनि सभापति देउवाले गरेको विभागमा मनोनितका बिषयलाई पनि तीब्र असन्तुष्टि जनाइरहेका छन् । उनीहरुले अहिले विभाग गठन औचित्यहिन रहेको टिप्पणी गर्दै आएका छन् ।