दमक/ मोरङको कानेपोखरी ७ स्थित एक घरमा लुकेर तास जुवा खेलिरहेका झापा , मोरङ र सुनसरीका १२ जनालाई प्रहरीले नगद ३ लाख भन्दा बढी रुपैयाँसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीको टोलीले हाइवेबाट झण्डै ३ किलोमिटर उत्तरतर्फ गएर तास जुवा खेलिरहेका उनीहरुलाई ३ लाख ५ हजार १ सय ३१ रुपैयाँसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रहरी निरिक्षक दिपक गिरीको नेतृत्वमा रहेको टोलीले आज साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विर्तामोड ३ का ३२ वर्षिय लक्ष्मी कुमार तामाङ्ग, २७ वर्षिय सञ्जिव घतानी, हल्दिवारी ५ का ३६ वर्षिय ताराकुमार जोगी, बुद्धशान्ति ४ का ३८ वर्षिय मनिष लिम्बु, बेलबारी नगरपालिका १ का ३६ वर्षिय बिमल गुरुङ्ग, सोही ठाउँका ३७ वर्षिय कृष्ण लिम्बु, २८ वर्षिय श्याम लिम्बु, ५२ वर्षिय चन्द्र लिम्बु, लेटाङ्ग नगरपालिका ५ का ३१ वर्षिय समिर तमाङ्ग, धरान १६ का ३९ वर्षिय रुपजंग लिम्बु, सोही ठाउँका २९ वर्षिय किरण उदास र इटहरी उपमहानगरपालिका २० का २४ वर्षिय राजन पौडेल रहेका छन् ।
उनीहरुलाई कानेपोखरी ७ स्थित चालिस बिगेका किशोर लुईटलको घरमा तास खेली रहेको अवस्थमा चार बुक ताससहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।