दमक/झापाको दमक ३ स्थित मावा खोलाको तटबन्धनका लागि बनाइएको ढुंगाको जाली फुटाएर ढुंगा चोरी हुन थालेको छ । खोला किनारमा बनाइएको तटबन्धननै भत्काएर ढुंगा चोरी हुने गरेको हो ।

तस्विर सामाजिक सञ्जालबाट

सरकारले खोला नदीबाट गिटी बालुवा उत्खनन गर्न भदौ मसान्त सम्म रोक लगाइरहेको अवस्थामा पनि खोलाबाट गिटी बालुवासंगै राज्य कोषको बजेट खर्चिएर गरिएको तटबन्धनकै ढुंगा रातारात चोरी हुन थालेको हो ।
हिजो  जनप्रतिनिधिलेनै सो क्षेत्रमा ढुंगा, गिटीको चोरी तस्करी नियन्त्रण हुन नसकेको सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएका छन् । स्थानीयस्तरमा खोला तटबन्धनका लागि बनाइएको समिति , स्थानीय सरकार र प्रहरी प्रशासनलाई समेत चुनौती दिदैं खोलाबाट अबैध रुपमा रातारात ढुंगा, गिटी र बालुवा उत्खनन गरेर लैजाने गिरोह सक्रिय रहेको हो ।

सो क्षेत्रमा अधिकांश वालुवा प्रशोधन गर्ने भन्दै अबैध रुपमा ढुंगा, गिटी उत्खनन गर्ने धन्दा चलिरहेको छ । स्थानीय सरकारबाट बालुवा प्रशोधनका लागि भनेर उद्योग खोल्न सिफारिस लैजाने र घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर क्रसरको काम गर्ने गिरोह छ । वातावरणीय सन्तुलन विग्रने औंल्याउँदै विज्ञहरुले खोला क्षेत्रमा त्यस किसिमका क्रसर उद्योगहरु नचलाउन सुझाव दिदैं आएका छन तर सरकार भने खोला दोहन गर्नकै लागि बर्षेनी प्रतिस्पर्धामा खोला उत्खननका लागि ठेक्का लगाउँदै आएको छ । दमकमा मावा र रतुवा खोला उत्खननले जोखिम बढदो छ । दमक ८ स्थित रतुवा किनारमा समेत केही मात्रामा बालुवा थुपारेर राख्ने र स्टक माल भन्दै खोलामा जेसीबि लगाएरै उत्खनन गर्ने गरेको पाइन्छ ।

Facebook Comments Box