मोरङ/ बिराटनगर ४ कञ्चनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा मोरङ कटहरी २ का २७ बर्षीय अभिसेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह, सप्तरी बोधेबर्साईनका ८ का २७ बर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ बर्षीय राजु साह रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीको १६ थान मोवाईयल सेट , १ थान चक्कु, भारतिय बैङ्कका २ थान चेक र नगद नेपाली रुपैया १८ हजार २० र भारतीय रुपैया ४९ हजार ४ सय ५० समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
सो समुहले संगठित रुपमा अपराधिक समुह स्थापना गरी, विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीहरुलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाक धम्की दिएर रकम असुल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जना उपर हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध सम्बन्धी मुद्दामा कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।