दमक/ वैदेशिक रोजगारीमा बढ्दो ठगीको मुख्य कारकका रुपमा एजेण्ट ( म्यानपावर प्रतिनिधि) भएको निष्कर्षसहित वैदेशिक रोजगार विभागले सबै मेनपावरलाई एजेण्ट हटाउन निर्देशन दिएको छ ।
यससंगै अबदेखि वैदेशिक रोजगार व्यवसायीले आफ्ना मेनपावर कम्पनीमा प्रतिनिधि (एजेण्ट) राखेर वैदेशिक रोजगारी सम्बन्धी कुनै पनि काम गराउन पाउने छैनन् ।

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ सरकारबाट २०७५ फागुन ११ प्रमाणिकरण भई वैदेशिक रोजगार ऐन २०६४ संशोधन भएसँगै मेनपावर कम्पनीहरुले एजेण्ट राख्न पाउने प्रावधान खारेज भएको हो । विभागले संशोधित ऐन कार्यान्वयनमा आएको भन्दै अबदेखि एजेण्टमार्फत वैदेशिक रोजगार सम्बन्धी काम गराउने संस्था र व्यक्ति दुवैलाई कारबाही गर्ने जनाएको छ ।
यस अघि सरकारले म्यानपावरहरुलाई व्यवस्थित गर्ने भन्दै लाईसेन्स प्राप्त एजेण्टलाई वैदेशिक रोजगार सम्बन्धिको काम गर्न पाउने व्यवस्था गरेको थियो । आधिकारिक र लाईसेन्स प्राप्त भनिएका बाहेक पनि पूर्व क्षेत्रमा अझै छ्यापछ्याप्ती म्यानपावर कम्पनीहरु छन् ।
दमक , विर्तामोडसहित मुख्य बजारहरुमा विभिन्न ट्रेनिङ इन्स्टिच्यूट, रोजगार परामर्श सेवा कार्यालय, भाषा तथा ट्यूशन कक्षाहरु चलाउने बहानामा दलालहरु म्यानपावरको प्रतिनिधिका रुपमा काम गरिरहेका छन् ।
सरकारले वैदेशिक रोजगार व्यवसाय व्यवस्थित गर्ने भन्दै ऐन, कानुननै संशोधन गरेर विभिन्न व्यवस्थाहरु गरेपनि दमक लगायतका पूर्वका बजारमा काठमाडौंको हेड अफिसको ठेगानासंगै सूचना, विज्ञापनहरुमा स्थानीय सम्पर्क नम्बर राखेर अनाधिकृत पले एजेण्टहरु सक्रिय हुँदा वैदेशिक रोजगारमा हुने ठगीको क्रम रोकिन सकेको छैन । स्थानीय पत्रपत्रिकाहरुले समेत विज्ञापन वापतको पैसाको प्रलोभनमा नियम विपरित त्यस्ता ठगीमा सघाउ पुयाउने किसिमका अनाधिकृत विज्ञापनहरु प्रकाशित गर्दैै आएका छन् ।

Facebook Comments Box