हिन्दू महिलाहरुको मुख्य पर्व तीजको मुख्य दिन आज अर्थात शुक्रबार। हरेक वर्ष यस दिन शिवालयहरुमा भिडभाड हुने गरेको थियो। सडकमा राताम्यै परिहन लगाएर गरगहनामा सजिएका महिलाहरुको भिडभाड हुने गरेको थियो। शहरका कतिपय होटल र पार्टी प्यालेसहरुमा पनि घन्चमन्च हुन्थ्यो। तीजका अनेक भाकाका गीता गुन्जयमान हुने हुन्थ्यो माहोल। तर यसपाला त्यस्तो छैन । कतिपयले घर र कोठा भित्र तीज सिमित गर्नुपरेको छ भने कतिपयहरु कोरोनाका कारण पारिवारिक बियोगको अवस्थामा छ्न । सबैतिर शून्यता छाएको छ। कोरोना भाइरसको महामारीका कारण यस वर्षको तीज पर्व सुनसान बनेको हो। झापाका अधिकांश शिवालय, मन्दिरहरु सुनसान छन्। सडक समेत सुनसान छ। दमकमा स्थानीय सरकारले लकडाउन गरेकाले गत शनिबारदेखि बजार, पसल खुलेका छैनन्। कतिपय मन्दिरहरुमा त ताला लगाइएको छ। कोरोनाका कारण मन्दिर बन्द गरिएको सूचना गरिएकाले श्रद्धालुहरु गएका छैनन्।