लकडाउन भनेको घर घरमै बस्न गरिएको निर्देशन वा जानकारी हो । कोही पनि बाहिर बाटो, हाट बजार, पसल, अफिस कतै जाने आउने काम अर्थात साविकको दैनिकी पूर्णरुपमा बन्द गरेर घर भित्रै सिमित गर्नु लकडाउनको पालना गरेको ठहरिन्छ ।
केन्द्र सरकारले गत बर्ष ११ चैत्रदेखि गरेको लामो समयको लकडाउन सकिएको केही समयपछि दमकमा स्थानीय सरकारले पहिलो पटक लकडाउनको घोषणा गरिसकेको छ । आज लकडाउनको दोश्रो दिन सम्म हेर्दा पहिलाको लकडाउन र अहिलेको लकडाउन कार्यान्वयनको सिलसिलामा केही फरक पाइन्छ ।
दमकमा पहिलाको लक डाउनमा चोक चोकमा प्रहरी टोली खटेर मानिसहरुलाई धपाउनु पथ्र्यो, नमान्नेलाई सजाय पनि दिने गरेको थियो, तर अहिले कोरोनाको संक्रमण समुदायस्तरमै फैलिएपछि प्रहरीलाई त्यो हैरान कम भएको छ ।
मानिसहरु स्थानीय सरकारले लकडाउन घोषणा भएदेखिनै घर घरमा बसेका छन् । अत्यावश्यक काममा बाहेक बाहिर चोक बजारमा अनावश्यक र लहडमा घुमफिर गर्न निस्किएका देखिँदैनन् ।
सुरक्षाकर्मी आफैं ठुलो संख्यामा संक्रमित भएपछि सर्वसाधारणहरु पनि त्रसित हुँदा बाहिर निस्किन त्यति रुचाएको देखिँदैन । अघिल्लो पटकको लकडाउनमा दमकका वित्तिय संस्थाहरु बैंक तथा केही सहकारीहरुले थोरै समय भएपनि आलोपालो गरेर भएपनि सेवा बचत फिर्ता दिने कामलाई निरन्तरता दिएका थिए । तर यसपटक वित्तिय संस्थाहरुलाई पनि तोकेरै स्थानीय सरकारले सेवा बन्द गर्न निर्देशन दिएपछि वित्तिय संस्थाका कार्यालयहरु पनि खुलेका छैनन् । अघिल्लो पटकको लकडाउनमा मानिसहरु रातारात लुकिलुकि भएपनि बजार भर्न र आफन्त भेटघाटमा जान्थे, यसपालीको लकडाउनमा आफन्तको मरिमराउनै भएपनि मानिसहरु जाने क्रम न्यून छ । अघिल्लो पटकको लकडाउनमा मानिसहरु घरमा बसेर पकाएको, खाएको, काम गरेको दृश्यहरु फोटो, भिडियो मार्फत धेरै सार्वजनिक गर्थे तर यसपटक संक्रमण उच्च गतिमा फैलिइएका कारण धेरै मानिसहरु निराश अवस्थामा छन् । पहिलाको लकडाउनको केहि दिनमै दमकका निजी अस्पतालहरुले अघोषित रुपमा सेवा बन्द नै गरेका थिए अहिले जोखिम मोलेरै भएपनि उच्च सावधानीपूर्वक आंशिक रुपमा भएपनि सेवा चालू राखेका देखिन्छ । पहिलाको लकडाउनमा राहत संकलन र वितरणमा दानविरहरु निक्कै अघि सरेका थिए अहिलेको लकडाउनमा आआफ्नो जोहोमा केन्द्रित भएका छन् । पहिलाको लकडाउनमा सेल्फी खिच्ने र टिकटक बनाउनेको होडबाजी जस्तै थियो अहिले निक्कै कम मानिसहरु मात्रै त्यस्तो उल्लास झल्काइरहेका छन् । पहिलाको लकडाउनमा विदेशमा भएका आफन्तहरु र यहाँका आफन्तहरुबीचमा कुराकानी हुँदा विदेश हुनेहरु धेरै समस्यामा परेको सुनिन्थ्यो तर अहिले विदेशमा कम स्वदेशमा हुनेहरु धेरै समस्यामा परेका देखिन्छ ।

Facebook Comments Box