दमक/  सरकारले चाडपर्वमा आफन्तका घर तिर नजान र अरुलाई पनि घरमा नबोलाउन भनेको छ । घर परिवारका सदस्यबाहेक अरु जमघट नगर्न सरकारले निर्देशन दिएको छ ।

कोरोना संक्रमणका कारण धार्मिकस्थलहरु नित्य पूजाको लागि मात्रै खोल्ने र भक्तजनको प्रवेश निषेध गर्न सरकारले निर्देशन दिएको छ ।
चाडपर्वमा पनि परिवारका सदस्य बाहेक अरुको जमघट नगर्न मन्त्रिपरिषद्को बैठकले निर्देशन दिएको हो । गएको २२ गते स्वास्थ्य मन्त्रालयले चाड पर्व सुरु हुन लागेको भन्दै चाडपर्व र उत्सवसम्बन्धी मापदण्ड ल्याएको थियो । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने परिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने र भेटघाट गर्ने परेमा कम्तीमा दुई मिटरको दुरी कायम गर्न भनेको छ ।
यस्तै सकेसम्म घरबाहिरको भेटघाटमा नजाने र जानै परेमा सहभागी हुँदा मास्क अनिवार्य लगाउने, कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै धार्मिकस्थलमा हुने हरेक भेला कार्यक्रममा बढीमा २५ जना मात्रै भेला हुने, टाढैबाट नमस्कार गर्ने, रेलिङ, देवी देवताका मूर्तिहरु र धेरै व्यक्तिले प्रयोगमा ल्याउन सक्ने सामग्री नछुन पनि मन्त्रालयले सचेत गराएको छ ।

Facebook Comments Box