दमक/ एक नम्बर प्रदेशको राजधानी विराटनगरसहित प्रदेशका विभिन्न ठाउँमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएको छ ।
समुदायमै कोरोना देखिन थालेपछि सर्वसाधारण चिन्तित छन् । पछिल्लो २४ घण्टामा एक नम्बर प्रदेशमा मात्रै १४० जना संक्रमित भेटिएका छन् । ति मध्ये २९ जना राजधानी विराटनगरका मात्रै छन् ।

त्यस्तै झापामा एक महिलासहित ५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४२३ पुगेको छ । संक्रमितमध्ये ५ जनाको मृत्यु भइसकेको छ ।
दमकमा आइतबार संक्रमण पुष्टि भएका सशस्त्र प्रहरीको गत बुधबार स्वाव संकलन गरिएको थियो । उनी सशस्त्र प्रहरीको शिक्षालयका पुरुष हुन् । संक्रमण पुष्टि हुने अन्यमा जिल्लाका अर्जुनधारा र बाह्रदशीका छन् । त्यसैगरी सुनसरीमा २ महिलासहित ६ जनामा संक्रमण पुष्टि भएको छ ।
क्वारेन्टाइनमा कमजोर व्यवस्थापन रहेको गुनासो क्वारेन्टाइनमा बस्नेहरुले गरेका छन् । दमकको दाहाल प्रतिष्ठानमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाहरुले आफूहरुको पीसिआर परिक्षणमा समेत ढिलाई गरिएको, क्वारेन्टाइनमा आएका नयाँ पुराना सबैलाई एकै ठाउँमा कोचेर राखिएको , अलग अलग व्यवस्थापन हुन नसकेको भन्दै गुनासो गर्दै आएका छन् । सो क्वारेन्टाइनमा हाल २८ जना र महिलाका लागि बनाइएको अर्को क्वारेन्टाइनमा ७ जना रहेका छन् । ति मध्ये १३ जनाको पीसिआर परिक्षणका लागि नमुना संकलन भएको छ ।