दमक/झापाको दमकका विभिन्न वडामा लायन्स क्लब अफ दमक इष्टर्न लायन र ग्रीन सिटीले संयुक्त रुपमा एक सय दिन सम्म मधुमेह परीक्षण शिविर सम्पन्न गरेका छन् ।
गत मसिंर ७ देखि फागुन १८ गते सम्म दमकको ग्रामीण क्षेत्र मानिने वडा नम्बर ३, १० संगै दमक ५ र ७ का २०३९ जनाको रगत परिक्षण गर्दा ३० प्रतिशत मधुमेहबाट पीडित रहेका पाइएको छ ।
मधुमेह परीक्षण शिविरमा रगत परीक्षण गराएका कूल २ हजार ३९ जना मध्ये ६ सय १२ जना मधुमेहबाट पीडित रहेका पाइएको छ ।

स्वास्थ्यकर्मी समेत रहेका लायन्स क्लब अफ दमक ग्रीनसिटीका द्धितीय उपाध्यक्ष कुवेर भट्टराईका अनुसार मधुमेहका ति विरामी मध्ये ४२ जनाले आफू मधुेमहबाट पीडित रहेको पहिलो पटक जानकारी गराएका थिए । परीक्षणमा आएका मध्ये मधुमेह पीडित विरामी झण्डै ३० प्रतिशत रहेका पाइएको छ ।
मधुमेहबाट महिलाको तुलनामा पुरुष धेरै पीडित रहेका पनि शिविरको तथ्याङकले देखाएको छ । ३० प्रतिशत मध्ये करिब १० अर्थात ९.०६ प्रतिशत विरामी मात्रै महिला रहेका र कन्य करीब २० प्रतिशत पुरुष यसबाट पीडित रहेका पाइएको लायन्स क्लब अफ दमक इष्टर्न लायनका अध्यक्ष विमल शर्माले जानकारी दिए । शिविर सञ्चालनका क्रममा जनचेतनामुलक सन्देशसहितका एक सय वटा डायरी वितरण गरिएको शर्माले बताए ।
शिविर सञ्चालन गरेका इष्टर्न लायन र ग्रीनसिटीले संयुक्त रुपमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा लायन लिडर एवम् लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानका एमओजी अजय अग्रवालले लायन्स क्लब इन्टरनेशनल स्थापनाको सय बर्ष पुगेको अवसरमा मानिसको स्वास्थ्य परीक्षण कार्यक्रमलाई अभियानका रुपमा अघि बढाउने निर्णय अनुसार दमकमा दुई लायन्स क्लबले सञ्चालन गरेको सो एक सय दिने मधुमेह परीक्षण शिविरले गरेको कामको प्रशंसा गरे । सो कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ दमक इष्ठर्न लायनका वेनु निरौलाले गरेका थिए ।