दमक/प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग आज छलफल गरेका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने विषयमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष दाहाल र कांग्रेस सभापति देउवाबीच छलफल भएको हो । बैठकमा कानुनमन्त्री भानुभक्त ढकाल र नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेताहरु मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

छलफलमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी नियुक्त गर्ने विषयमा छलफल भएको थियो । द्वन्द्वकालीन मुद्दाहरू टुंग्याउने लक्ष्यसहित २०७१ माघ २६ गते गठन भएका आयोगको म्याद पटकपटक थपिँदै आएको थियो । आयोगहरूमा परेका मुद्दाको किनारा नलाग्दै गत चैत मसान्तमा पदाधिकारी पदमुक्त भए । त्यसपछि आयोगमा पदाधिकारी सिफारिस गर्न पाँच सदस्यीय समिति बनेको थियो । सो समितिले पदपुर्तिका लागि निवेदन आह्वान गरेको थियो ।

समितिमा आयोगको अध्यक्ष र सदस्यका लागि ५२ जनाको निवेदन परेको छ । निवदेन परेका नामहरूबारे अन्तिम टुंगो लगाउन यही जेठ २७ गते सिफारिस समितिको बैठक बस्दैछ ।

Facebook Comments Box