जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नम्बर १ स्याक्रीमा विषालु च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको मृत्यु भएको छ । उनको बिहीबार राति कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।
उपचारका क्रममा ललितको मृत्यु भएको डाक्टर केएन पौडेलले पुष्टि गरे ।
यस संगै च्याउ खाएर गम्भीर विरामी भएका मृतकको संख्या ५ पुगेको हो । बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र दुईजनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताउनुभयो । यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए ।
बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा प्रदेश अस्पतालमै मृत्यु भएको थियो । ३ वर्षीया छोरी अञ्जनाको भने सोमबार गाउँमै मृत्यु भएको होे ।