दमक/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इञ्चार्ज र सहइञ्चार्जहरु तोक्नका लागि भनेर बोलाएको सचिवालय बैठकले आज पनि इञ्चार्ज र सहईञ्चार्जहरु तोक्न सकेन ।
जिल्ला कमिटीका इञ्चार्ज र सहइञ्चार्जहरुको नामावाली अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेका थिए । तर दुवै नेताले बनाएको सूचीलाई नेता माधवकुमार नेपालले अस्वीकार गरेका कारण बैठक निष्कर्षहिन बनेको नेकपा सचिवालय स्रोतले जनाएको छ । इञ्चार्ज र सहइञ्चार्जहरुको नामका विषयमा गम्भीरतापूर्वक छलफल गरिएको र त्यसलाई टुंगो लगाउन भोलि बिहान नौ बजे पुन बैठक बस्ने सहमति गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने ‘भोलि बस्ने सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाउने छ ।’
सांसद र मन्त्री भएकाहरुलाई पार्टी जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज दिन नहुने अडान वरिष्ठ नेता नेपालले राखेका छन भने ओली र प्रचण्ड दोहोरो तेहोरो जिम्मेवारी दिन पनि तयार भएका छन् ।
झापामा को बन्ला इञ्चार्ज ?
राजनीतिक रुपमा निक्कै महत्व राख्ने झापामा पार्टी इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी कसले पाउने हो भन्ने बिषयले पर्याप्त चर्चा पाएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भएका कारण पनि यहाँ हुने जिल्ला इञ्चार्ज र सहइञ्चार्जको छुट्टै महत्व हुन्छ । राजनीतिक रुपमा अहिले सम्म दुई जना केन्द्रिय नेताको नाम झापा इञ्चार्जका रुपमा चर्चामा छ । यस अघि झण्डै २० बर्ष पार्टीको जिल्ला नेतृत्वमा रहेर हाल केन्द्रिय सदस्यका रुपमा रहेका नेता देवेन्द्र दाहाल र पूर्व सांसद एवम अर्का केन्द्रिय सदस्य रविन कोइरालाको नाम जिल्ला इञ्चार्जका लागि चर्चामा रहेको हो ।
दाहाल अध्यक्ष ओलीको सचिवालयमा समेत छन् । उनी अध्यक्ष ओलीका विश्वास पात्रका रुपमा चिनिन्छन भने कोइरालालाई वरिष्ठ नेता माधव नेपाल निकट मानिन्छ । पार्टी अध्यक्ष ओलीको गृह जिल्ला भएका कारण झापाको इञ्चार्जका रुपमा नेकपाले पूर्व माओवादी केन्द्रका नेतालाई खटाउने सम्भावना नरहेको नेकपा स्रोत बताउँछ ।