भद्रपुर/झापाको भद्रपुर नगरपालिका २ साविक पृथ्वीनगरमा चरम लापरवाहीका कारण एकै परिवार दुई दाजुभाईसहित ३ जना नाबालकको एउटै खाल्डोमा ज्यान गएपछि गाउँनै शोकाकुल बनेको छ ।
प्रहरीका अनुसार बुधवार दिउँसो करिब २ बजेतिर घरबाट बाहिर खेल्न निस्किएका स्थानीय अनिल तामाङका १० बर्षीय छोरा अंकुश तामाङ, कमला थामीका छोराहरु १४ बर्षीय करण थामी र १२ बर्षीय अर्जुन थामीको त्यहाँ सिमसार बनाउन खनिदै गरेको खाल्डोमा परेका थिए । खेल्न गएका तिनै जना बालक बेलुका सम्म फर्केर नआएपछि खोजी गर्ने क्रममा अंकुश तामाङ राती ८ बजे सिमसार क्षेत्रमा मृत फेला परेका थिए । अन्य २ जना बालक फेला नपरेपछि रातैभर आफन्तहरु तनावमा परे ।
प्रहरीमा खबर गरेपछि प्रहरीसहित स्थानीयको टोलीले हराई रहेका अन्य २ जना बालकको खोजी गर्ने क्रममा १ नम्बर प्रदेश विपत व्यवस्थापन गुल्म चन्द्रगढीबाट खटिएको गोताखोर सहितको टोलीले आज बिहान ९ बजे सोही सिमसार क्षेत्रको पानी मुनी एकै परिवारका थामीद्धयलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ । सो घट्ना सिमसार निर्माणका क्रममा भएको लापरवाहीका कारण हुन पुगेको भन्दै स्थानीयहरुले आज दिनैभर सो क्षेत्रमा सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
उनीहरुले सिमसार निर्माणका क्रममा आवश्यक सतर्कता नअपनाई काम गर्दाको परिणाम गाउँले तीन जना नाबालक सन्तान गुमाउनु परेको भन्दै आक्रोश पोखेका हुन् । सो घट्नापछि गाउँनै शोकाकुल बनेको स्थानीयले बताएका छन् । पीडित परिवारले अझै सम्म ति बालकको शव बुझ्न मानेका छैनन् ।