दमक/ झापा जिल्लामै उमेरका आधारमा कान्छा वडाध्यक्षका रुपमा चिनिएका शिवसताक्षी नगरपालिका वडा नं ६ का वडाध्यक्ष मनोज खुलालको वडामा अर्को नयाँ र लोकप्रिय कार्यक्रम शुरु भएको छ । यस अघि लक डाउनका समयमा घर घरमै शारिरीक रुपमा अशक्त ज्येष्ठहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य जाँचको सेवा पुरयाएर चर्चा कमाएको सो वडाले हिजोदेखि एक घर पाँच विरुवा कार्यक्रम शुरुवात गरेको छ । वडाले प्रत्येक घरमा अनिवार्य विरुवा रोप्ने निर्णय गर्दै सो कार्यक्रम शुरुवात गरेको हो ।

वीपि स्मृति दिवसको अवसर पारेर हिजोदेखि सो कार्यक्रम अन्तर्गत वडा कार्यालयले वडाबासीलाई कार्यालयबाटै विभिन्न प्रजातिका रुखका विरुवा वितरण गर्न शुरु गरेको हो । वडाध्यक्ष मनोज खुलालका अनुसार कृषक समुह तथा संस्थालाई भने एक सय वटा सम्म विरुवा वितरण गरिरहेको छ ।

विरुवा लिन वडाबासीले आफ्नो नागरिकताको फोटो कपी अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरिएको छ । आआफ्नो आँगन वा खेतबारीमा अनिवार्य विरुवा रोपेर वातावरणीय सन्तुलन कायम राख्न वडाबासीलाई आग्रह गर्दै विरुवा वितरण गरिएको वडाध्यक्ष खुलालले जानकारी दिए । हरियाली वडाका रुपमा शिवसताक्षी ६ लाई चिनाउने लक्ष्यसहित खयर, टिक, मसला, तेजपात लगायत विभिन्न प्रजातिका ११ हजार ५ सय विरुवा धमाधम वितरण भईरहेको वडा कार्यालयले जनाएको छ । विरुवा वितरण शुभारम्भ कार्यक्रममा वडाध्यक्ष खुलाल, वडा सदस्यहरु बद्रीनाथ खनाल, लक्ष्मी गुरागाइँ, उषा केसी र नरमाया परियार, वन कार्यालयकी कर्मचारी मेनुका महतो लगायत सहभागी भएका वडा सचिव नवराज घिमिरेले जानकारी दिए । ति विरुवा सव डिभजन वन कार्यालय दमक अन्तर्गतको झिलझिलेस्थित नर्सरी र रतुवमाई वृक्षारोपण आयोजना तोपगाछीले उपलब्ध गराएको वडाध्यक्ष खुलालले जनाए । सो वडाले गत आर्थिक बर्षमै बृद्धबृद्धाहरुका लागि सामाजिक मनोपरामर्श , सम्मान र हर्लिक्स वितरण गरेर बृद्धबृद्धाहरुको मन जितेको थियो । भने युवाहरुलाई लक्षित गरेर साइबर अपराध न्यूनिकरण र लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको थियो ।