दमक/हिजोदेखि भइरहेको बर्षासंगै कन्काई नदीमा आज साँझ ६ बजेपछि पानीको सतह उच्च भएको छ ।

जानकारहरुले यसलाई खतराको संकेतका रुपमा लिएका छन् । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सामाजिक सञ्जाल फेसबुकमा त्यस्तो औंल्याउँदै सम्बन्धित क्षेत्रका सर्वसाधारणमा सचेत रहन आग्रह गरेका छन् ।
कन्काई प्रभावित क्षेत्रका बासिन्दाहरुका अनुसार सो नदीमा बाढी आएपछि झापाको झापा गाउँपालीका २ का विभिन्न क्षेत्रमा डुबान हुँदा सडकबारी आसपासका स्थानिय विस्थापित बनेका छन । कनकाई नदीमा लगाएको जनताको तटबन्धनमा समेत बाढीले क्षति पुरयाएपछि सर्वसाधारण विस्थापित हुन थालेका छन् । हाल सम्ममा डुबानमा परेका १६ घरपरिवारका करिब ७० जना स्थानियलाई सशस्त्र प्रहरी बल बिओपी टाघनडुब्बा, इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले स्थानियसंगको सहकार्यमा उद्दार गरेर लक्ष्मी प्राबीमा अस्थाई बसोबासको व्यवस्था मिलाएको छ ।
त्यहाँका सडकबारी, सेतुमारी, मिलनबस्ती, सालमारा तथा रसुनगन्ज जोखिममा रहेको तथा एक हजार बिघा धानबालीमा क्षतिको सम्भावना बढेको बताइएको छ ।