दमक/झापाको शिवसताक्षी ६ शिवगञ्जस्थित शिवगञ्ज बहुमुखी क्याम्पसलाई राष्ट्रिय वाणिज्य बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । क्याम्पसको जग्गा व्यवस्थापन र भवन निर्माणका लागि बैंकले सो सहयोग उपलब्ध गराईएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।
शिवगञ्जमा सोमबार आयोजित कार्यक्रममा बैंकका शाखा प्रमुख खगेन्द्र कन्दङवाले सो रकम प्रदान गरेका हुन् । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मालाई शाखा प्रमुख कन्दङवाले ५ लाखको चेक प्रदान गरेका थिए ।


कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्की, क्याम्पस सञ्चालक समिति अध्यक्ष अमृत कटवाल, क्याम्पस प्रमुख सुमन काफ्ले,शिगञ्ज बजार व्यस्थापन समितिका अध्यक्ष मुक्ती गुरागाईं लगायत उपस्थित थिए ।
व्यवस्थापन र शिक्षा शास्त्रमा २०६६ देखि अध्ययन अध्यापन सुरु भएको क्याम्पसको आफ्नै भवन नहुदाँ स्थानीय जन आदर्श माविको भवनमा संचालन हुदै आएको छ । सो क्याम्पसका लागि आवश्यक जग्गा व्यवस्थापन र भवन निर्माणका लागि हाल सम्म १४ लाख जम्मा भईसकेको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पसलाई राष्ट्रिय वाणिज्य बैंकले ५ लाख, सनराईज बैकले ५ लाख, नेपाल बैकले ३ लाख, सानिमा बैकले ८५ हजार र स्थानीय दाता सुनिता पाठक अग्रवालले २५ हजार प्रदान गरेका छन् । दाताले दिएको रकम राष्ट्रिय वाणिज्य बैकमा जम्मा गरिएको बताइएको छ । क्याम्पस संचालन समितिका अनुसार जग्गा र भवन निर्माणका लागि क्याम्पसलाई ५० लाख आवश्यक छ ।

Facebook Comments Box