दमक/ पछिल्लो २४ घण्टामा नेपालमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन १८६ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाए । पछिल्लो २४ घण्टामा चार हजार २१६ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २२८ पुगेको छ । आइसोलेसनमा ५ हजार ९३६ जनाको उपचार भइराखेको छ । सक्रिय संक्रमित को संख्या पाँच हजार ९३६ रहेको मन्त्रालयले जनाएको छ ।
डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म ११ हजार ८६८ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १७३ रहेको छ । प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ६६.५१ प्रतिशत हो । मन्त्रालयका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।
झापामा थपिए ३
झापामा पछिल्लो पटक थप भएकाहरुमा दमकका एक , कचनकवलका एक गौरीगञ्जका एक जना छन् । दमकबाट पीसिआर विधीबाट परिक्षणका लागि पठाइएका २१ जना मध्ये १ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् । संक्रमित हुनेमा क्वारेन्टाइनमा बस्दै आएका ४३ वर्षीय पुरुष हुन् । उनी गत ३१ गते दुबईबाट फर्किएका थिए । गौरीगञ्ज र कचनकबलमा थपिएका एक एक जना भारतबाट आएका हुन् ।
संक्रमण पुष्टि भएका झापाका तीनै जनालाई उपचारका लागि गोठगाउँ स्थित कोभिड अस्पताल पठाइएको छ ।
योसँगै झापामा संक्रमितको कुल संख्या ३१६ पुगेको छ ।

Facebook Comments Box