काठमाडौं/कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा यसलाई प्रभावित गर्ने उद्देश्यले पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन र सदस्यहरु मनोनयन गरेको भन्दै पार्टीको निर्वाचन समितिमा उजुरी परेको छ । नेपाली कांग्रेसका तीन पदाधिकारीले पार्टीको निर्वाचन समितिमा उजुरी दिएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले महाधिवेशन भएको ६ महिनाभित्र गठन भइसक्नुपर्ने विभागहरु अर्काे महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि गठन गर्नु विधान र निर्वाचन आचारसंहिताको उल्लंघन भएको आरोप लगाउँदै उजुरी गरेका हुन् ।
विधि र पद्धति मिचेर गठन भएका विभागहरु अस्वीकार गर्ने पौडेल, कोइराला र यादवको कथन छ । तीनै नेताले यस्ता मनोनयन र नियुक्तिहरु स्वीकार नगर्न सम्पूर्ण तहका नेता कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
पौडेल समूहको बहिस्कारका बीच गत पुसमा कांग्रेस केन्द्रीय कार्यसमितिले बहुमतबाट विभागहरु बढाउने निर्णय गरेको थियो । महाधिवेशनको कार्यतालिकाबारे संस्थापन र पौडेल समूहबीच सहमति भएपनि विभागबारे विवाद कायमै थियो । तर देउवाले आफू निकटका नेताहरुलाई विभाग प्रमुख र सदस्यहरु मनोनित गर्दै आएका छन् ।