दमक/आज १ श्रावण अर्थात साउने सङ्क्रान्ति पर्व । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।
असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखालेर घरपरिवार र आफन्तका साथ रमाइलो गरी आजको दिन विशेष भोज खाने चलन छ । असारे हिलोका कारण हुन सक्ने छाला सम्बन्धि रोगबाट बच्न आजको दिनलाई लुतो फाल्ने दिनका रुपमा पनि लिइन्छ ।
आज कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरु चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिने जनविश्वास रहेको छ । कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायतका औषधीय वनस्पति बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ ।


हरेक बर्ष साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष घुईंचो लाग्ने गरेपनि यो वर्ष कोरोना संक्रमणका कारण मन्दिरहरु प्राय बन्द छन् । भिडभाडमा जान नहुने भएपछि शिवालय लगायतका मन्दिरहरु बन्द हुँदा घर घरमै शिवको आरधना गरेर हिन्दु महिलाहरुले यो बर्षको साउन महिना मनाउनेछन् । महिलाहरुले आजको दिनदेखि विशेष हातमा हरियो, पहेंलो रंगका चुरा, विवाहितहरुले पंहेलै रंगको पोते आदि पूर्ण रुपमा पहेंलो सारी, चोलो आदि लगाउने गर्छन । साउन महिनामा महिलाहरु आफ्ना पतिको दिर्घायू र सुस्वास्थ्यको कामना गर्दै ब्रत पनि बस्ने गर्छन । कोही सोमबारका दिन मात्रै बस्छन भने कोही साउन महिनाभरनै ब्रत बस्ने गर्छन । उनीहरु यो महिना श्रृंगारमा विशेष ध्यान दिन्छन ।

Facebook Comments Box