दमक/ झापाको कमल गाउँपालिका वडा नं ६ को सिरान र आसपासमा रतुवा खोलाले पुरानो बाँध भत्काएको छ । ५/६ बर्ष अघि जनताको तटबन्धन कार्यक्रम अन्तर्गत बनाइएको बाँध यस बर्ष खोलामा आएको बाढीले भत्काएको हो । यस बर्ष रतुवा खोलाको दमक तर्फको भाग दमक ७ मा बाँध बाँधिएका कारण पानी बहाब कमल साविक लखनपुर तर्फ धकेलिँदा यस बर्ष बाँध भत्किएको लखनपुर क्षेत्रका सर्वसाधारणको बुझाई छ । लखनपुरतर्फ खोलो पसेपछि त्यस आसपासको साविक कोहोबरा गाविस समेत प्रभावित हुने देखिन्छ । 
उनीहरुले दमक ७ मा खोलाको किनारमा धेरै उचाई भएको र खोलाको प्राकृतिक धारलाईनै छेक्ने किसिमको बाँध बाँधिएका कारण आफ्नो गाउँतर्फको बाँध खोलाले भत्काएको लखनपुरका स्थानीय युवा प्रदिप बस्नेतले बताए ।
प्राकृतिक रुपमा बगिरहेको रतुवा खोलालाई साँघुरियाएर बाँध बाँधिनु स्थानीय सरकारको लापरवाही भएको समेत लखनपुरबासीको भनाई छ । उनीहरुले कमल र दमकका दुवै स्थानीय सरकार खोलामा बाँध बाँध्ने जस्तो गम्भिर किसिमको काम भइरहँदा त्यसले पार्ने प्रभाव र जनधनको क्षतिका बारेमा आंकलन नगरी अघि बढ्दा यस्तो परिणाम आएको भन्दै आक्रोश पोखेका छन् ।
स्थानीय युवाहरुले आज सामाजिक सञ्जालहरु मार्फत आफूहरुमाथि अन्याय भएको भन्दै स्थानीय सरकार विरुद्ध आक्रोश पोखेका हुन् । तत्काल खोलाको डुबान र कटान नियन्त्रण गर्दै दिर्घकालिन समाधानका लागि दुवै स्थानीय सरकारबीच समन्वय हुनुपर्ने पनि उनीहरुको सुझाव छ ।