दमक/झापाको शिवसताक्षी र गौरीगञ्ज १ मा कन्काई र कमल बनियानी खोलाको बाढीका कारण दर्जनौं घर परिवार डुबानमा परेका छन् । बस्तीको पूर्वपट्टी बग्दै आएको कन्काई नदीको भंगालो पसेपछि शिवसताक्षी ६ को पुरानो शिवगञ्ज बजार क्षेत्र र गौरीगञ्ज १ मा पर्ने साविक महाभाराको होक्कलबारी तथा बालुबाडी बस्ती डुबानमा परेका हुन् ।

गौरीगञ्ज गाउँपालिकाका कार्यपालिका सदस्य भीम प्रसाद राजवंशीले गएरातीदेखि होक्कलबारी र बालुबाडीमा खोलाको पानी पसेपछि दुई दर्जन बढी घर परिवार प्रत्यक्ष प्रभावित भएका बताउनु भयो ।
होक्कलबारीका स्थानीय युवा प्रेम राईले २/३ बर्षयताको ठुलो बाढी कन्काई नदीमा आएका कारण बाँध भत्किँदा होक्कलबारीका एक दर्जन परिवारको विजोग भएको बताउनु भयो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार आईतबार बिहान सो ठाउँका १० घर परिवारलाई सुरक्षीत स्थानमा सारिएको छ ।
इलाका प्रहरी कार्यालय शिवगञ्जको पुर्व तर्फको बस्तीमा बाढी पसेपछि रातीदेखिनै भागाभाग मच्चिएको थियो । यस अघि कन्काईको बाढीका कारण शनिबार सम्ममा शिवसताक्षी १० का ८ घरका ९ परिवार विस्थापित भएका कारण उनीहरुलाई आपतकालिन राहत सामाग्री प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा शिवसताक्षीका सभापति नारायण दाहालले जानकारी दिनु भयो । कनकाईमा आईतबार बिहान पानी ३.४७ मिटर उचाइमा बाढी आएको थियो ।