दमक/ बिहिबार बेलुकीदेखि ठाउँ ठाउँमा भईरहेको बर्षाका कारण आएको बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा २३ जनाको ज्यान गएको छ । २४ जना हराइरहेका छन् । पोखरामा मात्रै पहिरो जाँदा ६ जनाको ज्यान गएको छ । एक जना हराइरहेका छन् भने आठ जना घाइते भएका छन् । पोखरा महानगरपालिका १८ सराङकोट गोठादीका टंकबहादुर थापा मगरको घरमा पहिरो जाँदा थापासहित उहाँकी श्रीमती सोममाया थापा, टंक थापाको दाइको नाति ६ वर्षीय सुवान थापा, त्यही ठाउँमा ११ वर्षीय इसिका थापा र तनहुँ दमौलीका आठ वर्षीय शीतल श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तै पोखरा २५ हेम्जा मेलबाटेका रामचन्द्र अधिकारीको घर पहिरोले भत्किँदा उहाँकी आमा हिमकला अधिकारीको ज्यान गएको छ । जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा पहिरो खस्दा एक जनाको ज्यान गएको छ । पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाउँदा पुरिएका १२ जनामध्ये एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन । म्याग्दीमा बाढी र पहिरोमा पुरिएर १० जनाको ज्यान गएको छ । अरु १२ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परेर मालिका गाउँपालिका ७ विममा आठ जना र धवलागिरी ७ ताकममा दुई जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । यसैगरी धवलागिरी ६ मराङमा बाढी तथा पहिरोमा परेर १२ जना बेपत्ता भएको प्रजिअ ढकालले बताउनुभयो । मराङमा २० घरधुरी, विममा १० घरधुरी र ताकममा पाँच घरधुरीमा क्षति भएको छ ।
लमजुङको बेसीसहर नगरपालिका ७ सातबिसेमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । दीपक तामाङको घर पुरिँदा उहाँसहित उहाँकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिममा पहिरो खस्दा एकै घरका दुई जनाको ज्यान गएको छ । आठबीसकोट नगरपालिका ३ की २८ वर्षीया सीता दमाई र उहाँका ६ वर्षीय छोरा हाविलको ज्यान गएको प्रहरीले जनाएको छ । आठ वर्षीया छोरी हिरालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिका ४ फुस्रेका यामबहादुर श्रीसको खेतमा कुलो बनाउँदै गर्दा माथिबाट झरेको पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बाढी र पहिरोमा बेपत्ता भएकाहरुको शुक्रबार बिहानदेखि खोजी सुरु गरिएको छ । हराइरहेका २१ जनाको खोजीको काम सुरु भएको हो । शुक्रबार बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका विभिन्न ठाउँमा बाढी र पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । बाढी र पहिरोमा १६ घर पूर्णरुपमा क्षति भएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले अबको केही दिन देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हलुकादेखि मध्यम र केही ठाउँमा भारी वर्षासमेत हुने मौसमविदहरुले जनाएका छन् । नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा कतिपय ठाउँमा डुबानसमेत हुने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।