भद्रपुर/ भारतीय नागरिकलाई नागरिकता दिने जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने आदेश दिएको हो । झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले २०७२ साल मङ्सिर १० गते भारतीय नागरिक मुस्तफा आलमलाई झुटा विवरणको आधारमा ०४–०१–७२–०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।
झुटा विवरणमा नागरिकता बनाइदिएको खुलासा भएपछि फरार रहेका आचार्यलाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले यही असार २० गते काठमाडौँको गोठाटारबाट उनलाई पक्राउ गरी झापा ल्याएको थियो ।
नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा ३ बमोजिम अभियुक्त आचार्यले गरेको कसुर प्रमाणित भएमा उनलाई पाँच वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।