दमक/ मानवीय सेवाका काममा सक्रिय हुँदै आएको झापाको दमकस्थित असहाय मानव सेवा समाज दमकले सडकमा बेबारिसे अवस्थामा रहेका दुई जना महिलालाई उद्धार गरेको छ ।


संस्थाले हिजो साँझ नगरपालिका र स्थानीय प्रहरी समेतको समन्वय र सहयोगमा दमक चोकबाट उद्धार गरिएका ति महिलालाई दमक ९ मा एक घर भाडामा लिएर राखेको हो । मानसिक सन्तुलन गुमाएका कारण वास्तविक पहिचान समेत खुल्न नसकेका ति महिलालाई संरक्षणका लागि आवास र खानपिनको बन्दोबस्ती संस्थाले गर्दै आएको उपाध्यक्ष सजु बुढाथोकीले जानकारी दिनु भयो । उनीहरुलाई नगरपालिकाकी उपमेयर गीता पौडेल अधिकारी, इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डित लगायतको रोहबरमा संस्थाकी अध्यक्ष चेतना निरौलासहित स्वयमसेवकहरुले सडकबाट उद्धार गरी संस्थाको संरक्षणमा राखेका हुन् । उनीहरुको रेखदेखका लागि संस्थाका स्वयमसेवकहरु आलोपालो खटिने बताइएको छ । उनीहरुको प्रारम्भिक स्वास्थ्य परिक्षण आज गरिएको र कोरोना भए नभएको जाँचका लागि भोली पीसिआर परिक्षणका लागि नमुना संकलन गरिने नगरपालिकाले जनाएको छ ।
असहाय मानव सेवा समाजले कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितीमा सडकमा भौतारिरहेका असहाय तथा भोका मानिसहरुलाई खाना खुवाउने काम गर्दै आएको छ । भोकालाई भोजन अभियान नाम दिइएको सो अभियान अन्तर्गत आज ३५ औं दिनमा पनि सो कामलाई दाताहरुको सहयोगमा संस्थाले निरन्तरता दिएको छ ।

Facebook Comments Box