दमक/ झापाको दमकस्थित दमक उद्योग वाणिज्य संघले पछिल्लो समय कोरोना संक्रमणसंगै घोषणा गरिएको लकडाउनका कारण यहाँको उद्योग व्यवसाय तथा समग्र निजी क्षेत्रनै अस्तव्यस्त भएको भन्दै साझा समस्याको रुपमा उत्पन्न समस्यालाई मध्यनजर गरी आज नगरपालिका समक्ष व्यवसायिक हकहित सम्बन्धिका मागहरु पेश गरेको छ ।

दमक क्षेत्रमा व्यवसाय गरि आएका व्यवसायी हरुको संस्था नेपाल घरवहाल उपभोक्ता हकहित संघका प्रतिनिधी र व्यवसायिक प्रयोजनका लागि घर भाडा लगाउने घरधनी हरुको संस्था नेपाल घरभेटी संघका प्रतिनिधीहरु समेतको सहभागीतामा हिजो छलफल गरी सुझावसहितका पाँच बुँदे माग आज नगरपालिकामा पेश गरिएको हो ।
छलफलमा सम्पति कर,व्यवसाय कर एवं घरवहाल कर, छुट गर्नका निमित्त अनुरोध गर्ने , विभिन्न वैक तथा वित्तिय संस्थाहरुवाट लिएको ऋणको वैक व्याजदर शैक्षिक शुल्क, विद्युत,खानेपानी, टेलिफोन लगायतका महशुलमा छुट को व्यवस्था गर्न अनुरोध गर्ने , हालको समस्यालाई सहजरुपमा समाधान गर्नका निम्ति दुवै पक्षलाई सहज हुने गरी स्थानीय सरकारवाट नीति निर्माण गरि कार्यान्वय गराउन अनुरोध गर्ने , यस सम्बन्धि समस्याको विषयमा कुनैपनि बैठक तथा छलफल कार्यक्रमको आयोजना हुँदा सम्वन्धित निकाय नेपाल घरभेटी संघ, नेपाल घरबहाल उपभोक्ता हकहित संघ र दमक उद्योग वाणिज्य संघ समेतको सहभागीतामा मात्र निर्णय हुने व्यवस्था मिलाउन अनुरोध गर्ने, बहालकरको समस्या लाई दिर्धकालिन समाधानका लागि यथार्थ भाडादर कायम गराई बहालको दर लाई घटाई न्युनतम् १ प्रतिशत वहलकर कायम गर्दा करको दायरा समेत वढ्न गई राजश्व संकलनमा बृद्धि हुने हुदा सो अनुसार गर्न सुझावका रुपमा पेश गर्ने निर्णय बमोजिम आज नगरपालिकाकी उपमेयर गीता अधिकारी मार्फत नगरपालिकामा मागसहितको सुझाव पत्र पेश गरिएको संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिनु भयो ।
संघका अध्यक्ष गोकुल श्रेष्ठको नेतृत्वमा , पूर्व अध्यक्ष प्रकाश प्रसाइँ, घर भेटी संघका अध्यक्ष मेहेरमान लिङदेन, घरबहाल उपभोक्ता हकहित संघका सिताराम खतिवडा लगायत सरोकारवालाहरुको समुह नगरपालिकामा पुगेर सुझावसहितको सो माग पत्र बुझाएको जनाइएको छ ।