दमक/    झापाको दमकस्थित क्याम्पसमोडबाट उत्तर आम्दा अस्पाल तर्फ जाने सडक उच्च गुणस्तरको कालोपत्रे गरेर नमुना बनाउने भन्दै निर्माण थालिएको एक बर्ष वितिसक्यो ।

पुरानो सडक भत्काएदेखिनै अस्पताल सम्म आउने जाने अति महत्वपूर्ण सो सडक निर्माणको गति सुस्त छ ।
एम्बुलेन्स र मोटरसाइकल समेत सहज रुपमा आवतजावत गर्न नसकिने अवस्थामा भएको सो सडकमा निर्माण सामाग्री भने गुणस्तरहिन किसिमका प्रयोग भएको भन्दै स्थानीयहरुले बारम्बार सम्बन्धित निर्माण कम्पनी र स्थानीय सरोकारवाला निकायको ध्यानाकर्षण गराईरहेका छन तर सडक निर्माणको जिम्मेवारी पाएको कालिका कन्स्ट्रक्सन र सो कम्पनीका स्थानीय प्रतिनिधि यसका बारेमा गम्भिर देखिदैनन् ।

सडक निर्माणका लागि नियमन तथा रेखदख गर्ने निकाय दमक नगरपालिकाको बैठक तथा छलफलहरुमा पनि यसका बारेमा कुरा उठ्छन तर सुनुवाई हुँदैन । क्याम्पसमोडमेपज पाङीन चोक सम्म ३ किलोमिटर खण्ड निर्माणका लागि सो कन्स्ट्रक्सनले २३ लाख रुपैयाँमा ठेक्का लिएको थियो । सो सडकमा दुई दिन अघि रोलिङ नगरिएको सब बेसको सामग्री प्रयोग गर्न थालिएपछि स्थानीयले दमक ५ का वडाध्यक्ष र २ का वडाध्यक्ष प्रजापति सापकोटासहित सम्बन्धित निर्माण कम्पनी, प्राविधिकहरुलाई बोलाएर जानकारी गराउन खोज्दा उनीहरु नआएको बताइएको छ । सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरुलाई त्यस बिषयमा जानकारी गराउनका लागि बोलाउँदा पनि नआएपछि त्यहाँ सामाग्री लिएर आएका ट्रिपरहरु केही बेर नियन्त्रणमा लिएर स्थानीयले राखेका थिए ।

इञ्जिनियर भीम पौडेल र निर्माण कम्पनीका प्रतिनिधि पशुपति बरालसंग स्थानीयले फोन सम्पर्क गरेपछि त्यहाँ ल्याइएका कमसल निर्माण सामाग्री सो कम्पनीले फिर्ता लगेको छ । नगरपालिकाका इञ्जिनियर भीम पौडेलले त्यहाँ सामाग्री खसाल्ने ठाउँको बिषयमा मात्रै निर्माण व्यवसायी र स्थानीय उपभोक्ताबीच असमझदारी देखिएको र गुणस्तरहिन सामान फिर्ता गराइएको पनि बताउनु भयो ।

सो योजना कार्यान्वयन शुरुदेखिनै सुस्त भएको बताउँदै उहाँले पछिल्लो समय भने कामको गति सन्तोषजनक रहेको उहाँले बताउनु भयो । पछिल्लो समय भने लक डाउनका बाबजुद निर्माण कार्य सूचारु रहेको र स्थानीय उपभोक्ताहरु समेत सचेत रहेकाले खबरदारी गरेको हुन सक्ने उहाँको भनाई छ ।

Facebook Comments Box