काठमाडौं/भारतको बैंगलोरबाट नेपाल आएका एक युवकको क्वारिन्टीनमा बसेकै दिन मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ ।
भारतबाट फर्किएको दिन उनको मृत्यु भएको हो । पाटन नगरपालिका–६ सन्तोली घर भएका ३१ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ती पुरुषको राति क्वारेन्टाइनमै मृत्यु भएको हो । साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको बताइएको छ । मृतकको स्वाबको नमूना संकलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइएको छ । उनीसँगै बेंगलोरबाट १३ जना पनि हिजो बिहानै पाटन पुगेका थिए ।
स्वास्थ्य मन्त्रालयले हिजो सार्वजनिक गरेको विवरणमा भने ति युवकको विवरण समावेश छैन । हिजो सम्ममा मन्त्रालयले कोरानाको संक्रमण पुष्टि भएका १३ जनाको मृत्यु भएको सार्वजनिक गरेको थियो ।