दमक/झापाको दमक नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरका १० वटै वडाका कूल एक सय जनालाई यहि असार २५ गते सम्म दैनिक ज्यालादारीमा काम गर्ने गरि रोजगार दिन शुरु गरेको छ ।

नगरपालिकाले सबै वडा कार्यालयहरुलाई पत्राचार गरी सार्वजनिक विकासका काम गर्ने गरी जेठ २१ देखि असार २५ सम्म दैनिक ज्यालादारीमा रोजगारको अवसर प्रदान गर्न भनेको हो । नगरपालिकाको सो पत्राचारसंगै कतिपय वडाहरुले यस अघि निर्णय गरेर नगरपालिकामा जानकारी गराएका विकासे योजनाहरुमा बेरोजगार युवाहरुलाई खटाएका छन् ।

दमक ३ का वडा सचिव सन्दिप सुवेदीले सो वडाका १० जनालाई वृक्षारोपणको काममा खटाइएको जानकारी दिनु भयो । उहाँका अनुसार सो वडामा अधिकांश महिलाहरुले बेरोजगार रहेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिताका लागि निवेदन गरेका थिए ।

त्यसैगरी गौरीगञ्ज गाउँपालिकाले भने गाउँपालिका अन्तर्गतका ६ वटै वडामा २०÷२० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि गराउने बताइएको छ । तर सबै वडामा इच्छुकहरुले अझै रोजगारी गर्न पाउने वातावरण निश्चित भईनसकेको बताइएको छ । गाउँपालिकाका कूल १२० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि गराउने योजना अन्तर्गत वार्ड नम्बर १ मा कमल खोला तटबन्धन गर्ने योजना रहेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिनु भयो । सो कार्यक्रममा सहभागी भएर काम गर्ने बेरोजगार युवाहरुलाई दैनिक ५१७ रुपैयाँ पारिश्रमिक पाउने सरकारले व्यवस्था गरेको छ ।

Facebook Comments Box