दमक,८ जेठ । नेपाल प्रेस यूनियनले जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको कोरोना वीमा निशुल्क गरिदिएको छ । यूनियनको माइपश्चिम क्षेत्रीय समिति दमकले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आवद्ध तथा अन्य सक्रिय पत्रकार गरि ३२ जना पत्रकारहरुको रु १ लाख रुपैया सम्मको निशुल्क कोरोना वीमा गरिएको अध्यक्ष विष्णु सुब्बाले बताउनुभयो ।
उहाँका अनुसार वीमाका लागि दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रकाश प्रसाई र उहाँकी श्रीमती रेगिना भट्टराई प्रसाईले सहयोग पुरयाँएका हुन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पछिल्ला दिन पत्रकारहरुमा समेत संक्रमण बढ्दै गएकाले उनीहरुको स्वास्थ्य सुरक्षामा सघाँउ पुरयाँउन बीमाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । जोखिमका बाबजुद पनि सूचना प्रेषण गर्न अहोरात्र खटिआएका श्रमजीवि पत्रकारहरुको स्वास्थ्य सुरक्षामा जोड दिन यहाँका पत्रकारहरुको कोरोना वीमा गरिएको उहाँले वताउनुभयो ।
बीमाको नियमअनुसार विमीतलाई एकवर्ष भित्रमा कोरोना संक्रमण देखिए इन्स्योरेन्स कम्पन्नीले उपचार खर्च वापत रु १ लाख दिने छन् । विमा सगरमाथा ईन्स्योरेन्स कम्पन्नीमा गरिएको छ ।